द सिनेमा टाइम्स, काठमाडौं – अग्निलाई सांक्षी राखेर सात जुनीसम्म सँगै ज्यूने सँगै मर्ने कसम खाएको मान्छेले सँधाका लागि छोडेर गयो भने त्यसकोअसर बाँच्नेको जिन्दगीमा कस्तो पर्ला ? छोराछोरीका पँखेटा लागिसकेका छन् । बाउआमालाई बुढ्यौलीले छोइसकेको छ । कोही छोराको सहरमा राम्रै बन्दोबस्त छ । कोही सेटल हुने सुरमा छन् । श्रीमतीलाई व्यथाले च्याप्न थाल्छ । श्रीमतीको मुटु दुख्दा आफ्नै मुटु दुखेको अनुभूत गर्ने जयनारायण सर श्रीमती लक्ष्मीलाई लिएर उपचारका लागि छोराहरू बसेको सहर काठमाडौं पुग्छन् । त्यसपछि केहुन्छ ? सिनेमा यसकै सेरोफेरोमा घुम्छ ।
पारिवारिक कथामा आधारित सिनेमा हो । परिवारिक जीवनका आरोहअवरोहको कथा भन्छ ‘फूलबारी’ले । मध्यमबर्गीय गाउँले परिवारको जीवन भोगाई, सहरीया जीवनशैली प्रतिको मोह, पछिल्लो समय पप संगीतप्रति युवा पुस्ताको झुकाव र त्यसको प्रतिफल तथा यसलाई अघिल्लो पुस्ताले हेर्ने दृष्टिकोण, पछिल्लो पुस्ताको विदेश मोहलाई सिनेमाले देखाएको छ । मध्यमबर्गीय परिवारमा हुनेयो प्रवृत्तिले ढल्किँदो पुस्तामा पारेको प्रभावलाई पर्दामा देखाउँदै मजाले व्यंग्य गरेको छ ।
कथा आम मध्यमवर्गीय परिवारले भोगेकै हो । आम समाजले देखेकै हो । नदेख्नेले सुनेको मात्रै भए पनि हो । कथा उति धेरै नौलो होइन। तर, रसिला संवाद ‘फूलबारी’को सवल पक्ष हो । पट कथामा सिनेमा अलमलिए पनि संवादले कतै हसाउँछ, कतै रुवाउँछ । छिनमै हसाउँने सिनेमाले छिनमै रुवाउँछ । हँसिला र रसिला संवादले दर्शकलाई बाँधेर राख्छ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको यही नै बलियो पक्ष हो । उपेन्द्र सुब्बाले संवाद लेखनमा बेजोड मेहनत गरेका छन् ।
सिनेमामा विपीन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, अनुपम शर्मा, गौमा गुरुङ, शिल्पा मास्के, मनिष ढकाल, शोमनाथ खनाललगायत कलाकार मुख्य भूमिकामा छन् । विपीन कार्की यो सिनेमाका नायक हुन् । रिटायर्ड शिक्षक उनी दयाहाङ राईको छिमेकी काकाको चरित्रमा छन् । पर्दामा स्क्रिन टाइम र कथाका हिसावले उनी नायक हुन् । कथाले मागेर मात्रै उनी सिनेमामा नायक होइनन्, अभिनयका हिसावले पनि उनी नै नायक हुन् । उनको अभिनय चरित्रमा यसरी पोखिएको छ ।
जब ‘फूलबारी’ निर्माणको घोषणा भयो । कलाकार फाइनल भएको खबर आयो । त्यो खबरसँगै आएको सूचना थियो, दयाहाङको काका भएर विपीनले सिनेमामा अभिनय गर्दैछन् । अनि सुरु भयो विपीनको आलोचना । राजेश हमालले छोडेको बाउको रोल विपीनले गर्ने भएछन् ! अर्थात राजेश हमालले त यो उमेरसम्म बाउको रोल गरेका छैनन्, आजै विपीनले बाउको रोल गर्ने ? आलोचना भइरहँदा विपीन भनिरहेका थिए, यही त हो मेरा लागि चुनौति । मेरो उमेरभन्दा दोब्बर उमेरको चरित्र मैले गर्न सक्छु कि सक्तिन यसलाई मैले चुनौतिका रूपमा लिएको छु । नभन्दै उनले त्यो चुनौति समाजले फेस गरे । परीक्षा दिए । र, पास पनि भए । ‘फूलबारी’ हेर्नेले यति भन्न कसैले हिचकिचाहट राख्नु पर्दैन ।
बलिहाङ अर्थात दयाहाङ राईले जति स्क्रिन टाइम पाएका छन्, त्यसमा उनले आफूलाई सवल रूपमा प्रस्तुत गरेका छन् । उनी सिनेमामा धेरै देखिँदैनन् । तर, दशर्कले खोजिरहने पात्रमा उनी पनि पर्छन् । अभिनयमा उनले कन्जुस्याईं गरेका छैनन् ।
अरुणा कार्की आफ्नो भूमिका सफलता पूर्वक निभाउने कलाकार हुन् । यो सिनेमामा पनि उनले उम्दा कलाकारिता मजैले प्रस्तुत गरेकी छन् । प्रियंका कार्की छुच्ची बुहारीको भूमिकामा ठिक छिन् । आफूलाई दिएको जिम्मेवारी सिनेमामा खड्किएको छैन । सोमनाथ खनालले पनि अभिनय राम्रो गरेका छन् । कान्छो छोराको रुपमा अभिनय गर्न आइपुगेका मनिष ढकालले पछिल्लो युवा पुस्ता जो विदेशमात्रै भविश्य देख्छ, यसको प्रतिनिधित्त्व गरेका छन । निर्देशकले दिएको जिम्मेवारीमा उनी पनि कमजोर महसुस हुदैनन् ।
अनुपम शर्माको छोटो स्क्रिन टाइम नै सही, उनले अभिनयले दर्शकको मन थाहै नपाई सुटुक्क चोर्छ । हुन त उनको यो क्षमता ‘गाजाबाजा’ हेर्नेले नै थाहा पाइसकेका थिए ।
कुरा आयो, सिनेमेटोग्राफीको । यो सिनेमाको अर्को राम्रो पक्ष सिनेमेटोग्राफी हो । देखे सुनेकै कथा निर्देशकले भनिरहेका छन् ।तर, पनि सिनेमेटोग्राफीले दर्शकलाई कसेर राखिरहन्छ । अमेरिकी सिनेमेटोग्राफरले आफ्नो कला क्यामेरामा जमेर देखाएका छन् । सिनेमामा सिनेमेटोग्राफीको भूमिका कति र कस्तो हुन्छ भन्ने उनले देखाएका छन् । अमेरिकी सिनेमेटोग्राफर नै किन ? यो प्रश्न अबसायद नरहला कि !
नेपाली सिनेमाले मार खाने अर्को पक्ष भनेको साउण्ड हो । यसबाट पनि ‘फूलबारी’ बचेको छ । दृश्य अनुसारको साउन्ड र ब्याकग्राउन्ड म्युजिकले सिनेमामा गज्जव काम गरेको छ । केही दृश्यमा साउन्ड डिजाइनर उत्तम न्यौपानेले आफ्नो कला गज्जवले देखाएका छन् । संवाद र दृश्यसँगै त्यसलाई न्याय गर्ने ब्याकग्राउन्ड म्युजिक र साउन्ड भयो भने त्यसले सिनेमालाई उकास्न कति भूमिका खेल्छ भन्ने पनि‘फूलबारी’को केही दृश्यमा आउने साउन्डले प्रस्ट्याएका छन् ।
सिनेमाको अर्को बलियो पक्ष गीत हो । रामबाबुका सिनेमामा एयटा गीत कम्तीमा हिट हुन्छ । अहिलेको भाषामा भन्ने हो भने भाइरल । माया रैछ र… गीत यो सिनेमाको भाइरल गीत मात्रै होइन सिनेमाको बलियो प्रोमोसन गर्ने गीत पनि यही हो । यसअर्थ सिनेमा प्रयोग भएका गीतले पनि दर्शकलाई बाँधेर राख्न मद्दत गर्छ । कथा भन्न सहयोग गर्छ ।
पूर्वी पहाड त्यसमा पनि इलामको चिया बगानको मनोरम दृश्य, हरिया पहाड, पूर्वी नेपालको पहाडीया परिवेश र लवजले सिनेमामा थप प्राण भर्ने काम गरेका छन् । समग्रमा आम दर्शक जसले ‘कबड्डी’ हेरेर दुई घण्टा रमाइलो मान्छन् । ती दर्शकका लागि नै सायद रामबाबु ‘फूलबारी’ लिएर आएका हुन् । रामबाबु तिनै निर्देशक हुन्, जसले नेपाली दर्शकलाई फरक स्वाद टेस्ट गराउन ‘कबड्डी’ लिएका आए । ‘कबड्डी’ त्यस्तो सिनेमा हो जो दर्शकका लागि सधैँ प्रतिक्षित बन्छ । सिनेमा हेर्न हलमा दर्शकको अनपेक्षित भीड लाग्छ । नेपाली सिनेउद्योगलाई चलायमान बनाउने क्षमता राख्ने निर्देशक यसपटक ‘फूलबारी’ लिएर आएका हुन् । स्वभाविक पात्र र संवादमार्फत आफ्नोसिनेमा विश्वस्नीय बनाउने र त्यसैमार्फत दर्शकलाई रमाइलो गराउने रामबाबुका सिनेमाका विशेषता हो । यो अर्को त्यस्तै सिनेमा हो ।
चलचित्र : फूलबारी
निर्देशक : रामबाबु गुरुङ
कलाकार : विपीन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, अनुपम शर्मा, शोमनाथ खनाल आदि ।
निर्माता : मनिष ढकाल
कथा : कमल किशोर मालपानी
लेखक : उपेन्द्र सुब्बा
प्रतिक्रिया