काठमाडौंमा १५ सिनेमा देखाउँदै सकियो पहिलो महिला सिनेमा महोत्सव

काठमाडौंमा १५ सिनेमा देखाउँदै सकियो पहिलो महिला सिनेमा महोत्सव

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार काठमाडौंमा एकदिने महिला केन्द्रित सिनेमा महोत्सव आयोजना गरिएको छ । ‘वुमन मेक सिनेमा फेस्ट’ शीर्षकमा अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका सिनेमाहरु देखाइएको थियो ।

किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वल अभियानसँग मिलेर आयोजनामा विहान ११ बजेदेखि २ बजेसम्म चलेको फेस्टिभलमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा सिनेमा देखाइएको किपालय प्रडक्सनले जनाएको छ । किपालयले सन् २०२१ मा काठमाडौंमा र सन् २०२२ मा बाँके र बर्दियामा कार्यशाला चलाएको थियो ।

किपालय प्रडक्सनले सिनेमा निर्माण तथा निर्देशनमा महिलाको सहभागितालाई बढावा दिने उद्देश्यले प्लान इन्टरनेसनलसँग मिलेर दुई चरणमा सिनेमा निर्माण कार्यशाला सम्पन्न गरिसकेको छ । फेस्टिभलमा यसरी निर्माण भएका सिनेमासँगै अन्य संस्थाको सहकार्यमा महिलाले बनाएका सिनेमा प्रदर्शन गरिएको हो ।

फेस्टिभलमा समावेश सिनेमाहरु तीन स्लटमा छुट्याएर प्रदर्शन गरिएको थियो । पहिलो स्लटमा कल्पना बम र प्रतिभा पन्त निर्देशित ‘दि जर्नी अफ इनोसेन्स’, मिरा खड्का र अस्मिता लावती निर्देशित ‘वन रुपी’, श्रीषा कुवँर र एन्जिला चौधरी निर्देशित ‘मेरो बुवा’, डिम्पल राजथला र भावना अधिकारी निर्देशित ‘खुल्ला आकाश’, पुष्पा जोशी र सपना बेलबासे निर्देशित सिनेमा ‘भेइल्ड’ प्रदर्शन गरिएको फेस्टिभल आयोजनाकी सदस्य पुष्पा जोशीले जानकारी दिइन् ।

दोस्रो स्लटमा पिंकी श्रीष राना र एलएसएम निर्देशित ‘हजुर’, शुभांगी खड्का निर्देशित ‘मदरर्स स्कुल’, शर्मिला आले निर्देशित ‘साउन्ड अफ ब्यांगल’, मुना बिके र सरला सुनुवार निर्देशित ‘आन्टीको गाउँ’ प्रदर्शन गरियो भने अन्तिम स्लटमा अनु रावत र सम्झना चौधरीको निर्देशन रहेको ‘ह्युमन ट्राफिकिङ’, हेमा सुनार, गोविन्द राना र टीकाराम विकको निर्देशन रहेको ‘मेन्टल हेल्थ’, न्यान्सी शाह र पूजा परियारको निर्देशन रहेको ‘चाइल्ड म्यारिज’, सुरज गुरुङ र चेतना केसीको निर्देशन रहेको ‘एम आइ गुड इनफ’, अन्जली घर्ती मगरको ‘एउटा कथा’ र तृषा ढकालको ‘डियर डायरी’ देखाइएको थियो ।

किपालय प्रमुख आश्मा पोखरेलले महिलाले बनाएका सिनेमा मात्र प्रदर्शन गरिनु आफैँमा पहिलो प्रयोग भएको र यसमा महिला निर्माता तथा निर्देशकको उत्साहजनक सहभागिताले हौसला दिएको बताएकी छन् । यो बर्षको फेस्टिभल सानो स्केलमा गरिए पनि आगामी साल यसलाई वृहत् बनाउने योजना रहेको उनले बताइन् । यसका लागि बेलायत र युरोपका महिला सिनेमा फेस्टिभलसँग सहकार्यको कुरा अगाडि बढिरहेको पनि उनले जानकारी गराइन् ।

फेस्टिभल सम्पन्न गर्न चलचित्र विकास बोर्ड, ब्रिटिश काउन्सिल, चिल्ड्रेनल सिनेमा सोसाइट, डक स्कुल, गौँथली इन्टरटेनमेन्ट र सिर्जना सूत्रले सहयोगी भूमिका निभाएका थिए । ‘वुमन मेक सिनेमा फेस्ट’मा अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीसँगै २ सयभन्दा बढी दर्शकको सहभागिता रहेको थियो ।