काठमाडौंमा बिहीबारदेखि निफको छैटौं संस्करण आयोजना हुने

काठमाडौंमा बिहीबारदेखि निफको छैटौं संस्करण आयोजना हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को छैटौं संस्करणमा ३५ देशका ९५ सिनेमा सहभागी हुने भएका छन् । ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित चैत २ गतेदेखि ६ गतेसम्म चल्ने महोत्सवका अध्यक्ष केपी पाठकले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

‘महोत्सवका सिनेमालाई क्यूएफएक्स चेन अन्तर्गतका चार हलमा देखाउदै छौँ । यस्तै अन्तरक्रिया र छलफल सम्बन्धी कार्यक्रम पर्यटन बोर्डको प्रेक्षालयमा हुनेछ’, अध्यक्ष पाठकले भन्नुभयो, ‘रचनात्मक कार्यक्रमलाई विशेष महत्वका साथ सिनेमा क्षेत्र र सम्बन्धित विधाका विज्ञले अन्तरक्रिया गर्दैछन् ।’

महोत्सवमा ७ विधामा १४ पुरस्कार वितरण हुने जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड सिनेमा प्रतिस्पर्धामा छन् । चिनियाँ सिनेमा एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ सिनेमाको भाष्य, बुझाइ र विश्वकै ठूलो सिनेमा बजार’ विषयमा र भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु सिनेमा विषयमा मास्टरक्लास दिनेसमेत अध्यक्ष पाठकले जानकारी दिए ।

यस्तै, निफमा प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास, भूराजनीतिमा सिनेमाको भूमिका, नेपाली दर्शकको विकासक्रम, सिनेमा नीति : नीति मात्रै कि व्यवहार पनि, सिनेमा कास्टिङ : महत्व र अभ्यास, हास्य व्यंग्यले हौसिएको नेपाली सिनेमा र आमा अभिनेत्री : जिम्मेवारी र करिअरजस्ता विषयमा अन्तरक्रिया तथा छलफल गरिने आयोजक संस्थाले जनाएको छ ।