‘बुलाकी’ कर्णालीको दु:ख र पिडा बुझाउने मौलिक सिनेमा : नरेन खड्का

‘बुलाकी’ कर्णालीको दु:ख र पिडा बुझाउने मौलिक सिनेमा : नरेन खड्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कस्तो सिनेमालाई मौलिक हो भन्ने विषय बहस कै विषय हो । आफ्नो भाषामा बनेका सिनेमालाई नै मौलिक भन्न मिल्छ अथवा भाषासँगै अरु पनि कुरा पनि आफ्नै हुनु पर्छ ? यो बहसको विषय हो । व्यक्ति अनुसारका विचार छन् । तर, टुंगोमै पुग्न नसकिने विषय भने यो पक्कै होइन । तर, यति चाहीँ भन्न सकियला-भाषासँगै देशका अन्य पक्ष पनि जोडिएर आउनु पर्छ । अथवा देशका विभिन्न पक्षहरूलाई सिनेमाले उजागर गरेको हुनुपर्छ ।

त्यस्तै अर्थात मौलिक मान्न सकिने र निर्माण पक्षले पनि आफ्नै भूगोलको आफ्नै सिनेमा भनेर दाबी गरिरहेको सिनेमा हो, ‘बुलाकी’ । यो सिनेमा वैशाख १ गते रिलिज हुँदैछ । नयाँ वर्षको अवसर पारेर यो सिनेमा प्रदर्शनमा आउँदै छ । यसको मुख्य अभिनेता हुन्, नरेन खड्का । जो अभिनेत्री सुरक्षा पन्तको अपोजिटमा देखिँदै छन् ।

नरेन ‘बुलाकी’लाई मौलिक सिनेमा भन्छन् । नेपालमा मौलिक सिनेमा भएनन् र हुनुपर्छ भनिरहेका बेला आफूहरूले मौलिक सिनेमा लिएर आएको उनको दाबी छ । ‘हामी मौलिक सिनेमा भएन नेपालमा, हाम्रो आफ्नै मौलिक सिनेमा चाहियो भन्छौँ । हो हामीले भनेजस्तै मौलिक सिनेमा हो यो,’ नरेनले स्पष्ट पारे ।

‘बुलाकी’ एउटा कथा भएको र कथाले पार्ने प्रभाव सिनेमामा रहेको उनी बताउँछन् । ‘पश्चिम कर्णालीको विषयमा सिनेमा बनाएका छौँ । त्यहाँका मान्छेले बाँच्नका लागि गर्ने दुःख । कर्णालीका मान्छेले बोल्न र लगाउनका लागि गर्ने दुःखलाई सिनेमाको कथाले समेटेको छ । समग्रमा भन्दा कर्णालीको संस्कृतिमा हामीले सिनेमा बनाएका छौँ,’ नरेन भन्छन्, ‘हामीले भन्दै आएको जस्तो मौलिक सिनेमा बनाएका छौँ । नेपालमा मौलिक सिनेमा भएन भनेर आलोचना भइरहेका बेला हामीले आफ्नै प्रतिबिम्ब देखिने मौलिक सिनेमा बनाउने प्रयास गरेका छौँ ।’

नरेनका अनुसार दुई तरिकाले सिनेमा बनाइन्छ । एउटा-सिनेमाबाट सिनेमा बनाइन्छ, जुन रेगुलर सूत्रमा हुन्छ । अर्को-केही युनिक भ्वाइसका लागि बनाइन्छ । ‘बुलाकी’ भइरहेका भन्दा फरक कथा देखाउन बनाइएको सिनेमा भएको उनको दाबी छ । नेपाली सिनेमा जगतमा यो सिनेमा फरक आवाज भएको नरेनको भनाइ छ ।

लामो समयदेखि निर्माण भएर रोकिएकाले आफूहरू वैशाख १ गते नै आउनु परेको उनको भनाइ छ । अरु नेपाली सिनेमा पनि यही डेटमा आउन लागेको सन्दर्भमा उनले ठूलो लगानी भएकाले लामो समय होल्ड गरेर बस्न नसकिने अवस्था रहेको संकेत गरे । ‘बुलाकी’ १६ महिना अगाडि निर्माण सम्पन्न भएको सिनेमा हो ।

यस्ता सिनेमा अरु पनि आउनु पर्ने र ‘बुलाकी’का निर्माताले अन्य यस्तै सिनेमा पनि बनाउने प्रतिबद्धता जनाएको बताए । कर्णालीमा सिनेमाका लागि थुप्रै कथा रहेको र ती क्रमशः आउनु पर्ने उनको धारणा छ । सलक्क परेको अग्लो ज्यान, हँसिलो मुहार अनि स्टाइलिस व्यक्तित्व नै नरेनको बाहिरी रुप हो । उनले यो सिनेमामा सुरक्षा पन्तसँग अनस्क्रिन जोडी बाँधेका छन् । यो जोडीले दर्शकलाई कर्णालीको कथा देखाउँदैछ ।

‘बुलाकी’मा कर्णालीको स्थानीय लवजसँगै नेपाली भाषा पनि छ । कारण काठमाडौंमा बस्ने देशभरका दर्शकले सहजै बुझुन् भन्ने उद्देश्य रहेको उनको तर्क छ । त्यसो त त्यहाँका स्थानीय जिविको पार्जनकै लागि भारतका विभिन्न सहर जान्छन् । त्यसैले त्यताको लवज पनि आउला भन्छन्, नरेन । नरेन स्वयंको क्यारेक्टर पनि जीवन चलाउन भारत जान्छ । त्यहीँ बसिरहने क्यारेक्टरले टिपिकल भाषा बोलेको हुनसक्ने तर सहर आइरहने चरित्रले मिश्रित भाषा बोल्न सक्ने उनको भनाइ छ । उनले स्पष्ट सन्देश यो हो- जस्तो क्यारेक्टर डेभलप छ, त्यस्तै उसको भाषा र भेष छ । चरित्र अनुसारको लवज छ । डोल्पा, जाजरकोट, रुकुम र रुकुमपश्चिममा सिनेमा छायांकन गरिएको छ । सोही क्षेत्रको भाषा र लवज सिनेमामा देखिने उनको भनाइ छ ।

‘बुलाकी’ निसन्तान दम्पतीको जिन्दगीको आरोह अवरोहको कथा हो । नि:सन्तान दम्पतीको जीवनको उतार चढाव कसरी जारी लिने-दिने अवस्थासम्म पुग्छ भन्ने कथा नै ‘बुलाकी’को मुख्य विषय हो । नि:सन्तान दम्पतीले घरपरिवार र समाजबाट कस्तो व्यवाहार भोगिरहनु परेको भन्ने यो सिनेमाले उजागर गर्नेछ । श्रीमान्, परिवारकै सदस्य र समाजको हप्कीदप्की सहन नसकेपछि महिला कस्तो निर्णय लिन पुग्छन् भन्ने ‘बुलाकी’को कथा हो ।

टोपेन्द्र विष्टको निर्माण रहेको सिनेमामा नरेन र सुरक्षासँगै रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाइको अभिनय छ । यही सिनेमाबाट प्रकाश कँडेल र सरस्वती खत्रीले नेपाली रजतपटमा डेव्यु गरेका छन् ।

लक्ष्मण सुनारले निर्देशन गरेको सिनेमा शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा छ । राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्टको पटकथा तथा संवाद रहेको छ ।