आइडेन्टिट क्राइसिस भर्सेस करप्टेड सिस्टममा बनेको ‘नीरफूल’

आइडेन्टिट क्राइसिस भर्सेस करप्टेड सिस्टममा बनेको ‘नीरफूल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फूलमान बल निर्देशित सिनेमा ‘नीरफूल’ कोरोना महामारी अगाडी नै प्रदर्शनको तयारीमा थियो । सिनेमा २०७६ सालको चैत ७ गते प्रदर्शनको तयारी स्वरुप सम्पुर्ण प्रचार प्रसार समेत गरिसकेको थियो । तर, सरकारले महामारी नियन्त्रणका लागि चैत ५ गते नै देशभरका हलहरु बन्द गर्ने निर्णय गरेपछि सिनेमाको प्रदर्शन रोकियो ।

कोरोना महामारीमा परेको सिनेमा अब आगामी जेठ २६ गतेबाट प्रदर्शनकको तयारीमा रहेको छ । लामो समय रंग पत्रकारिता गरेर निर्देशनमा डेव्यु गरेका फूलमान बल फराकिलो आयामबाट समाजको कथा भन्न निर्देशनमा आएको बताउँछन् ।

‘नाटक दुई र चारवटा लेखियो । किताब र कविता पनि लेखियो । पत्रकारिता गरियो । यी सबैले आफूलाई अभिव्यक्त गर्ने रहेछ,’ उनी भन्छन्, ‘अझ फराकिलो आयामबाट र अझ ‘क्रिएटिभ’ हिसाबमा कथा भन्ने एउटा सशक्त ‘आर्टको फम’ सिनेमा हो । यसको माध्यमबाट केही कुरा भनौं भन्ने सोचले निर्देशनमा हात हालेको हुँ ।’

निर्देशक फूलमान बललाई सिनेमा रिलिज भएपछि निर्देशकको दृष्टिकोण मर्छ र दर्शकको दृष्टिकोण जन्मन्छ भन्ने लाग्छ । ‘निर्देशकको काम आफैं बोल्नुपर्छ भन्ने मान्यता छ । काम बोलिसकेपछि धारणा दर्शकहरुले बनाउने हो । भनिन्छ नि, पुस्तक बजारमा गइसकेपछि लेखक मर्छ । उसको दृष्टिकोण मर्छ । त्यसपछि पाठकहरुको दृष्टिकोण ‘क्रिएट’ हुन्छ भनेजस्तै सिनेमा रिलिज भएपछि निर्देशकको पनि दृष्टिकोण मर्छ । त्यसपछिको दृष्टिकोण दर्शक र समालोचकको हो ।’

नीरफूल ट्रेलर हेर्दा कथा भूँइचालोमा केन्द्रित देखिन्छ । तर, निर्देशक बल सिनेमामा भूँइचालो भएपनि कथा अर्कै रहेको स्पष्ट पार्छन् । ‘सिनेमामा परिवार हराएको कथा छ । परिवारको प्रेम, पीडा र संवेदना छ । खासमा सिनेमा ‘आइडेन्टिट क्राइसिस भर्सेस करप्टेड सिस्टम’मा बनेको छ,’ उनले बताए । अहिलेको समयमा निर्देशकले ‘आर्टको फम’बाट भन्नुपर्ने कुराहरु धेरै रहेको र तीमध्ये ‘नीरफूल’ले अलिकति भन्ने कोसिस गरेको उनको दाबी छ ।

निर्देशक फूलमान बल अहिले नेपाल टेलिभिजनको महाप्रवन्धक हुन् । ‘नीरफूल’ बनाउने बेला उनी पत्रकार मात्रै थिए । पत्रकारिताको माध्यमबाट राज्यलाई प्रश्न गर्थे । सिनेमा रिलिज हुने बेला उनी राज्यको महत्त्वपूर्ण जिम्मेवारीमा छन् । उनीद्वारा निर्देशित सिनेमाले राज्य व्यवस्थामाथि प्रश्न गरेको छ । यहाँ एउटा प्रश्न स्वभाविक रुपमा उठ्छ, ‘राज्यको जिम्मेवार पदमा पुगेको व्यक्तिले सिनेमाको माध्यमबाट राज्यलाई नै प्रश्न गर्न छुट दिन्छ ?’

यस बिषयमा उनले प्रष्टीकरण दिएका छन्, ‘जुन बेला मैले सिनेमा निर्माण गरे त्यो बेला म सिस्टम बाहिर थिएँ । म ‘एन्टी करेन्ट’ कन्टेन्ट लेख्नुपर्ने पत्रकारिताको पेशामा थिएँ । सिनेमा रिलिज हुँदै गर्दा म सिस्टमभित्र छु । मैले व्यक्तिगत हिसाबले यी कुरा भन्न मिल्दैन तर ‘क्रिएसन’को हिसाबमा भन्न मिल्छ । आज म जुन हिसाबमा सरकारको प्रतिनिधित्व गर्छु, त्यो हिसाबमा मैले भन्न नमिल्ने होला । तर, ‘क्रिएसन’ भनेको त्योभन्दा फरक कुरा हो ।’

सिनेमामा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत सिनेमाको पटकथा लेखक समेत रहेका निर्देशक वलले नीरफूल भूकम्पले भत्काएको सम्बन्धहरूलाई जोड्न गरिएको प्रयत्नको रूपमा निर्माण गरेको बताउँछन् । धादिङको रूवी भ्याली, रसुवाको स्याफ्रुँबेसीसँगै काठमाडौंमा खिचिएको सिनेमामा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् ।

सचिन घिमिरे एसोसिएट निर्देशक रहेको सिनेमा प्रमोद कार्कीले खिचेका हुन्, भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ । नेपाल-म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको सिनेमामा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा लगायतको पनि अभिनय छ ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको सिनेमामा निर्माताको रूपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।