मैले अपेक्षा गरेजस्तै सिनेमामा काम गर्ने अवसर पाएँ : दयाहाङ राई

मैले अपेक्षा गरेजस्तै सिनेमामा काम गर्ने अवसर पाएँ : दयाहाङ राई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रुवी भ्यालीमा जन्मिएको एउटा पात्र आफ्नो परिवेश अनुसारको ठूलो सपना देख्छ । उसको सपना खाडीमा गएर पैसा कमाएर घर पठाउने हुन्छ । श्रीमतीको योजना सदरमुकाममा घर बनाउने हुन्छ । र, श्रीमानका समकालीनजस्तै सदरमुकामलाई स्थायी मुकाम बनाएर बस्ने हुन्छ । अर्थात् निष्कर्षमा धेरैले झैँ गाउँ छोड्ने योजना बनेको हुन्छ ।

तुलनात्मक रुपमा सहज र सुखी जीवन खुसी खुसी ज्युने हुन्छ । रहरले श्रीमतीले देखेको सपनाले श्रीमानलाई खाडी उडाउँछ । खाडी उडेको केही समयमै देशमा ०७२ को गोरखा भूकम्प जान्छ । भूकम्पले परिवारको प्रिय सदस्यलाई हरेर लगेपछि आत्तिएको श्रीमान् घर फर्किन्छन् ।

छोरी खोज्ने क्रममा उनले थाहा पाउँछ, छोरीसँगै पाङसाङ रुवी भ्याली पनि हराइसकेको छ । त्यही सिनेमा हो, जसमा श्रीमान् र बुवाको भूमीकामा रहेको पात्रलाई प्राकृतिक विपत्ति र राज्यले यसरी दुःख दिन्छ, जुन सायदैले कल्पना गरेको हुन्छ । राज्यका अंगअंगमा उनी ठूलो विश्वास र भरोसा बोकेर पुग्छन् । तर, त्यो विश्वास र भरोसा बालुवाको घरजस्तै भत्किनलाई समय लाग्दैन । मनको आस क्षणभरमा क्षणभंगुर हुन्छ । राज्यले आफ्नै नागरिकलाई कसरी दिन्छ दुःख ?, कसरी गर्छ अपमान ? र, कसरी टुटाउँछ राज्यप्रतिको विश्वार र बाद्य बनाउँछ बोल्न यो पात्रले भोग्छ । जीवन के होे ? उसले भोग्यो ।

समाजमा कस्ता-कस्तासम्म मान्छे हुँदा रहेछन् ? उसले देख्यो । कस्तो परिस्थिमा मान्छेले के-के सम्म गर्न सक्छ ? उसले गर्यो । कस्ता-कस्ता निर्दयी मान्छेका बिचमा रहेछ ऊ ? उसले चाल पायो । परिवारको महत्व र माया के हो ? उसले अनुभूत गर्यो । र, उसले निष्कर्ष निकाल्यो-निदर्यी र क्रूर समाजको बिचमा हर मान्छे बाँचिरहेको छ । जसले जुनसुकै बेला जो सुकैलाई डस्न सक्छ । त्यसैले त पाङसाङमा सुन्दर खर्कमा फूलजस्ती श्रीमतीको साथमा भेडा चराएर जिन्दगी गुजारिरहेको उसको जिन्दगीको डुंगा आज डुब्न-डुब्न लागेको छ । जब जिन्दगीबाट खुसी निख्रिन्छ । उसका आँखाबाट आँसुका धारा बहन्छन् ।

राज्यका निकायले उसलाई निर्जिवतुल्य बनाइदिन्छन् । ऊ स्वयं देउतालाई ढुंगा देख्न थाल्छ । खुसी तार्ने पुल भाँच्चियो । खुसी उन्ने धागो चुट्टियो । परिवार हरायो । हिमालको काखमा रहेको गाउँ हरायो । तर, केवल हराएन उसको सामुन्नेको दुष्चक्री राज्य र सकिएनन् उसका आँखाका आँसु । त्यसैले त ऊ कहिले एक्लै रुन्छ, कहिले मान्छेहरुकै भिडमा रुन्छ । कहिले भित्रभित्रै रुन्छ, कहिले आफूलाई रोक्नै सक्तैन, देखिने गरी रुन्छ । र, त्यो रुने पात्र हो, दयाहाङ (राई) । र, सिनेमा हो-‘नीरफूल’ । ‘नीरफूल’को क्यामेराका अगाडि त दयाहाङ थुप्रै रोए । तर, त्यो आँसु र दुःख एक्सन र कटको बिचको निश्चित अवधिभित्रको थियो । त्यो बाहिर त उनी कति खुसी थिए । सायद उनैले मात्रै अनुभूत गरिरहेका थिए । त्यसैले त उनी भन्दैछन्- सबै सिनेमा उस्तै हुँदैनन्, केही सिनेमा खास पनि हुन्छन् ।

सिनेमा त दयाहाङले थुप्रै गरे । उनका थुप्रै सिनेमाले करोडौं कमाए पनि । हलमा लागेकै दिन उत्रिने समयमा उनका सिनेमा ५१ औँ दिनसम्म चले पनि । तर, यतिबेला दयाहाङ भन्दैछन्- आजसम्म मैले यस्तो सिनेमा कहाँ पाएको थिएँ र काम गर्न । लोभ गरेर बसेको सिनेमाका लागि कहाँ आएको थियो र कथा । तर, एक दिन उनले खोजेको जस्तै भयो ।

पाँच वर्ष अगाडिको एक दिन, लोभ गरेको जस्तै सिनेमाको कथा उनका सामु आयो । अपेक्षा गरेजस्तै सिनेमा बन्यो । त्यो सिनेमाको कथा बोकेर दयाहाङसामु आइपुगेका थिए, फूलमान बल । त्यसैले त आज दयाहाङ फूलमान बललाई भनिरहेका छन्, धन्यवाद ! र, भनिरहेका छन्- मैले अपेक्षा गरेजस्तै सिनेमामा काम गर्ने अवसर दिएकोको फेरि पनि धन्यवाद !

फूलमान बलले निर्देशन गरेको सिनेमा ‘नीरफूल’ जेष्ठ २६ गते रिलिज हुँदैछ । दयाहाङ राई, शान्ति वाइवा, राजन खतिवाडा, बुद्धि तामाङ, रेखा थापा, जिग्मे छोकी घिसिङ, पुस्कर गुरुङलगायत कलाकारको अभिनय रहेको छ । सिनेमाको कथा निर्देशक फूलमान स्वयंले लेखेका हुन् ।