‘पिम नेपाल सिनेमा महोत्सव’मा ‘आमा’ अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान

‘पिम नेपाल सिनेमा महोत्सव’मा ‘आमा’ अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘पिम नेपाल सिनेमा महोत्सव’को पाँचौं संस्करणमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रमिला कार्की उत्कृष्ट घोषित भएका छन् । सिनेमा ‘डिसेम्बर फल्स’बाट आर्यनले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्दा असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘बगान’बाट प्रमिलाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् ।

जमलस्थित साँस्कृतिक संस्थानमा तीन दिनसम्म चलेको उक्त फेस्टिभलमा उत्कृष्ट फिचर सिनेमाको अवार्ड ‘प्रकाश’ले जित्न सफल भयो भने सिनेमा ‘लाखे’बाट सम्राट बस्नेतले उत्कृष्ट फिचर सिनेमा निर्देशकको अवार्ड प्राप्त गरे । ‘प्रकाश’बाट उत्कृष्ट लेखनको अवार्ड बिकास सुवेदी जितेका छन् । उत्कृष्ट भीएफएक्स आर्टिस्टको अवार्ड भने समीर मियाँले जितेका हुन् ।

त्यस्तै, महोत्सवमा ‘नम्बरी सुन’ले फिचर सिनेमातर्फ जुरी अवार्ड, ‘डेशान’बाट कमल एक्चै मगरले फिचर सिनेमा निर्देशकतर्फ जुरी अवार्ड र ‘लाखे’बाट रोहित रुम्बाले उत्कृष्ट अभिनेताको जुरी अवार्ड प्राप्त गरे । पावर नेपाल इन्टरनेशनल मिडियाको आयोजनामा भएको महोत्सवमा उत्कृष्ट सिनेमा पत्रकारको अवार्ड कुबेर गरी र उत्कृष्ट मनोरञ्जन पत्रकारको अवार्ड कृष्ण कँडेलले प्राप्त गरे ।

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेको महोत्सवमा पहिलो नेपाली सिनेमा ‘आमा’की अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान प्रदान गरिएको थियो भने निर्देशक ऋषिराज आचार्य, अभिनेता तेज गिरी, पत्रकार दीपक विहीन र सचित खड्का, लोकगायक रामकुमार नेपाली र लोकगायक अमृत भारतीलाई सम्मान गरियो ।