सिनेमा ‘जारी’ अझै हलमा, मनायो प्रदर्शनको एक सयौँ दिन

सिनेमा ‘जारी’ अझै हलमा, मनायो प्रदर्शनको एक सयौँ दिन

द सिनेमा टाइम्स
350
Shares

द सिनेमा टाइम्स, काठमाडौं – उपेन्द्र सुब्बा निर्देशित सिनेमा ‘जारी’ले प्रदर्शनको सय दिन मनाएको छ । वैशाख १ गतेबाट रिलिज भएको सिनेमा ‘जारी’ले आज प्रदर्शनको एक सय दिन मनाएको हो ।

पछिल्लो समय सिनेमा बिरलै मात्रै सय दिनसम्म प्रदर्शन हुने गरेका छन् । हप्तामै दुईतीनवटा सिनेमा रिलिज हुने र दर्शक बाँडिने गरेका कारण पछिल्लो समय अधिकांश सिनेमा हप्ता दिनमै उत्रिने गरेका छन् । तर, ‘जारी’ भने लोभलाग्दो प्रदर्शनसहित आकर्षक ब्यापार गर्न सफल भएको छ ।

अहिले पनि सिनेमा क्यूएफएक्सलगायत केही मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको सिनेमामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, परिक्षा लिम्बु, अनिल सुब्बालगायत कलाकार मुख्य भूमिकामा छन् । निर्देशक रामबाबु गुरुङ सिनेमाका निर्माता हुन् । जो नेपालको हिट सिरिज ‘कबड्डी’का निर्देशक पनि हुन् ।

‘जारी’ले पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा रहेको विवाह सम्बन्धी संस्कारलाई मुख्य विषय बनाएको छ । पालम कसरी गाइन्छ र पालम गाउँदा हार र जितको नियम के हुन्छ यो नै ‘जारी’को मुख्य कथा हो ।

सय दिन मनाउने दूर्लभ सिनेमा ‘जारी’ त बन्यो नै यसले दिएको एक जबरस्त सन्देश के हो भने मौलिक सिनेमा पछि चल्छन्, आम दर्शकले रुचाउँछन् र पैसा कमाउँछन् भन्ने हो ।

‘जारी’ले नेपालमा मात्रै करिब १७ करोड १८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको केही दिन अगाडि चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा उल्लेख छ । यसबाहेक सिनेमाले विदेशस्थित नेपाली डायस्पोरामा पनि राम्रो चलेको थियो । सँगै डिजिटल राइट्सबाट पनि निर्माण पक्षले राम्रो पैसा लिएको थियो ।

पूर्वी पहाडका दुर्गमगाउँमा रहेको एक भिन्न सामाजिक परम्परा ‘प्रथा’का कारण एक दम्पतिको जीवनमा आएको उतारचढाव सिनेमामा छ । जीवनमा आएको उतारचढावले प्रेमको परिभाषामा भएको बदलाव छ । यही सानो कथाले पूरै नेपालमा सफलता पायो । नेपाली डायस्पोरामा रुचाइयो ।

सिनेमाले लिम्बू समुदायमा रहेको एउटा संस्कार र संस्कृतिको त कुरा ग¥यो नै साथमा यसले नयाँ पुस्ता र विदेशमा रहेका लिम्बू समुदायको नयाँ जेनेरसनलाई आफ्नो संस्कार र संस्कृतिबारे पनि बतायो । आगामी पुस्ताका लागि पनि सिनेमामा नै सही तर नमेटिने इतिहास सुरक्षित पनि गर्यो ।

प्रायः नेपाली भूमी, नेपाली जनजीवन, यहाँका भिन्नभिन्न समुदाय र संस्कृतिका पृष्ठभूमिमा बन्ने मौलिक कथाहरूभित्र पनि व्यवसायिकता छ भन्ने पनि यो सिनेमा उदाहरण हो । त्यसैले यो सिनेमाले कथा खोज्न कतै भौतारिनु पर्दैन, रुमानी कल्पनामा हराउनु पनि पर्दैन भन्दै मात्रै आफ्नै वरिपरिको विषय उठान गरेपुग्छ भन्ने दह्रो सन्देश दिएको छ ।