‘राष्ट्रिय चलचित्र पुरस्कार’मा हरिवंश र दीया उत्कृष्ट अभिनेता-अभिनेत्री

‘राष्ट्रिय चलचित्र पुरस्कार’मा हरिवंश र दीया उत्कृष्ट अभिनेता-अभिनेत्री

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’मा सिनेमा ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र सिनेमा ‘प्रकाश’बाट दीया मास्केले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् ।

चलचित्र विकास बोर्डले आयोजना गरेको अवार्ड समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वितरण गरिएको अवार्ड ग्रहण गर्नका लागि हरिवंश स्टेज चढेका थिए भने दीया मास्के रोडिजको छायांकनको लागि पोखरामा भएकाले कार्यक्रममा अनुपस्थित थिइन् । उत्कृष्ट निर्देशक ‘प्रकाश’बाट दिनेश राउत घोषित भए ।

लेखन विधाको अवार्ड ‘चिसो मान्छे’बाट दीपेन्द्र के खनालले प्राप्त गरेका छन् भने ‘लप्पन छप्पन २’बाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायांकार, ‘दोख’बाट निमेष श्रेष्ठ उत्कृष्ट सम्पादक र आदिवासी जनजाती सिनेमातर्फ ‘ह्युलन छयाँबा’ घोषित भए । सो समारोहमा २०७८ र ०७९ को विशेष सिनेमा पनि घोषणा गर्दै प्रमाणपत्र प्रदान गरियो ।

२०७८ सालको विशेष सिनेमा ‘टुल्की’ र ‘नीरमाया’ बन्न सफल भए भने २०७९ सालको विशेष सिनेमा ‘बुलाकी’, ‘प्रसाद २’ र ‘चिसो मान्छे’ घोषित भए । ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ले भने जुरी अवार्ड ९निर्णायक विशेष छनोट० प्राप्त गरेका छन् । यसपटक मुख्य विधा अर्थात् उत्कृष्ट सिनेमातर्फ भने अवार्ड बाँडिएन । जसले गर्दा राष्ट्रिय चलचित्र पुरस्कार विवादित समेत बनेको छ ।

अवार्ड वितरणपश्चात् लक्ष्मी गिरी र शिव श्रेष्ठलाई राष्ट्रपतिसहित सूचना प्रविधि रेखा शर्मा र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ३ लाख ७५ हजार नगदसहित दीर्घ साधना सम्मान प्रदान गरे । त्यस्तै, ३५ जनालाई विशेष योगदान सम्मानबाट सम्मानित समेत गरियो । पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले स्वास्थ्य समस्याका कारणले आफ्नो मन्तव्य राखेका थिएनन् ।

अवार्ड समारोहमा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०७१ सालको सिनेमा नीतिको पुनरावलोकन गर्ने क्रम जारी रहेको भन्दै कानून निर्माणको लागि सिनेमा ऐनको विधेयकको मस्यौदा बनिरहेको जानकारी दिइन् । नेपाली सिनेमालाई गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धी बनाउन जरुरी रहेको र सघाउन सरकार तयार रहेको मन्त्री शर्माको दाबी गरिन् ।

‘यसका लागि सरकार चाँडै सिनेमाकर्मीसँग छलफल गर्ने तयारीमा छ’ मन्त्री शर्माले भनिन् । कथानक मात्र नभएर डकुमेन्ट्री र छोटा सिनेमाको प्रवद्र्धन गर्ने योजना रहेको बताउँदै मन्त्री शर्माले मौलिक कथालाई स्टोरी बैंकमार्फत सघाउने क्रम निरन्तर रहने बताइन् ।

‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’मा नेपाली सेनाको टुकडीले सिनेमा ‘मनको बाँध’देखि पछिल्लो समयका सिनेमासम्मको संगीत समेट्दै धुन प्रस्तुत गरेको थियो । विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्नको लागि सरकारको सहयोग जरुरी रहेको बताए । सो अवसरमा बोर्डको तर्फबाट राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गरिएको थियो ।

तस्वीर : विवेक बस्याल