झरना थापाजस्ता इमान्दार मेकरलाई सेन्सर र समीक्षाको नाममा नपिरोल्नुहोला : रीमा विश्वकर्मा

झरना थापाजस्ता इमान्दार मेकरलाई सेन्सर र समीक्षाको नाममा नपिरोल्नुहोला : रीमा विश्वकर्मा

द सिनेमा टाइम्स
539
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत भाद्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) अहिले दोस्रो सातामा प्रदर्शनरत छ । विभिन्न धार्मिक संघसंस्थाले सिनेमाको शिर्षकलाई लिएर रिलिज पूर्व झमेलामा फसेको सिनेमा चलचित्र विकास बोर्डको मध्यस्थतामा नाम परिवर्तन गरेपछि प्रदर्शनमा आएको थियो ।

प्रदर्शन पश्चात सिनेमालाई समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको सिनेमाले दर्शकबाट भने राम्रो प्रतिक्रिया पाइरहेको छ । सिनेमाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि निर्देशक झरना थापाले आफ्नो लागि बक्सअफिस अंकभन्दा दर्शक प्रतिक्रिया महत्वपुर्ण रहेको बताएकी थिइन् । दर्शकको स्यावासी पाउनु नै आफ्नो लागि ठुलो सफलता रहेको निर्देशक थापाको भनाई छ ।

यसबीच अभिनेत्री रीमा विश्वकर्माले सिनेमा ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) हेरेकी छन् । अभिनेत्री विश्वकर्मा सिनेमा हेरेपछि निर्देशक झरनाको खुलेर प्रशंसामा गरेकी हुन् । कलाकार र सिनेमा बाँच्नको लागि निर्माता बाँच्न जरुरी रहेको बताउँदै रीमाले झरनाजस्ता इमान्दार मेकरलाई सेन्सर र समीक्षाको नाममा पिरोल्न नहुने बताएकी छन् ।

रीमा लेख्छिन्,-‘झरना थापा जस्तो इमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समीक्षाको नाममा पिरोलिरहने हो भने नेपाली सिनेमा व्यापार, व्यवसाय र करिअरको रूपमा विकसित हुन अर्को पचास वर्ष लाग्न सक्छ । सिनेमा हेरेपछि मभित्रको कलाकारलाई कलाकार झरना थापाको साह्रै माया लागेर आयो । कलाकार झरना थापाको कलाप्रतिको बुझाइ, लगाव र निर्माता निर्देशकको रूपमा देखाएको इमान्दारिता वास्तवमै प्रशंसनीय छ । यत्तिको नेपाली सिनेमा निरन्तर बन्नुपर्छ र झरना थापा जत्तिको निर्देशक, निर्माता टिमलाई हामीले बचाउनुपर्छ ।’

सिनेमा समीक्षकले कलाको समीक्षा गर्नुपूर्व कला बुझ्न जरूरी रहेको रीमाले लेखेकी छन् । ‘कलाको भन्दा कलाकार, निर्माता र निर्देशन टोलीप्रति पक्षपाती भएर गरिएका समीक्षाको पछि नलाग्नुहोला,’ उनी लेख्छिन्, ‘राम्रा सिनेमाको मूल्यांकन गर्न हामी आफैं सक्षम छौं । मलाई त मनर्पयो एक भागवत र एक गीता ।’

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् । सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।