द सिनेमा टाइम्स, काठमाडौं – नेपालकी मेनुका पौडेल भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’का कारण चर्चामा छिन् । आफ्नो उम्दा प्रस्तुतीले धेरैको नजरमा परेकी उनले भारतको ठूलो सिनेमा ‘सलार’मा पाश्र्व गायनको अवसर पाएकी छन् ।
उनलाई यो अवसर ‘इन्डियन आइडल’मा दिएको प्रस्तुतीले नै दिलाएको हो । सोनी टेलिभिजनमा आइतबार राति प्रशारित शोमा मेनुका स्वयंले आफूले ‘सलार’मा गीत गाउने अवसर पाएको खुसी साटेकी हुन् । आइतबारको एपिसोडमा मेनुकाले स्टुडियो पुगेर गीत गाएको अंश समेत प्रशारण गरिएको थियो ।
उक्त शोको निर्णायकमध्येकी श्रेया घोषालले उठेर बधाई दिएकी थिइन् । अर्का निर्णायक कुमार सानुले ताली बजाउँदै बधाई दिएका थिए । मेनुकाले संगीतकार रवि बसरुरको संगीतमा ‘सलार’को एक गीतमा स्वर दिएकी हुन् । उनको स्वर सिनेमाको हिन्दी भर्सनका लागि रेकर्ड गरिएको हो ।
भारतीय सिनेमामा पाश्र्व गायनको अवसर पाएपछि मेनुकाले भनेकी छन्, ‘म आज एकदमै उत्साहित छु । किनभने, मलाई सिनेमामा गाउनका लागि अवसर मिलेको छ । यो ‘सलार’ सिनेमाको गीत हो । यो मेरो पहिलो टर्निङ पोइन्ट हो ।’
मेनुका ‘इन्डियन आइडल’को ‘टप १४’मा पुगिसकेकी छन् । उनलाई उपाधिको हकदारको रुपमा हेर्न थालिएको छ । उनको गायनको वाहवाही भैरहेको छ । मेनुकाले २०७४ सालमा नेपालको गायन रियालिटी शो ‘नेपाल आइडल’मा समेत भाग लिएकी थिइन् । तर, कम भोट पाएपछि उनी शीर्ष ११ बाट बाहिरिएकी थिइन् ।
यतिबेला मेनुका दृष्टिविहीनहरुका लागि समेत प्रेरणाको स्रोत बनेकी छन् । झापा बिर्तामोडकी उनले एक दर्जन बढी नेपाली गीत गाइसकेकी छन् भने सिनेमा ‘लिलिबिली’को ‘हावा सरी’ गीतबाट पाश्र्व गायनमा डेब्यू गरेकी थिइन् ।
प्रतिक्रिया