राधा र रुक्मिणीको प्रेमकथामा रोमान्टिक ड्रामा निर्देशन गर्दै पुर्णेन्दु झा

राधा र रुक्मिणीको प्रेमकथामा रोमान्टिक ड्रामा निर्देशन गर्दै पुर्णेन्दु झा

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक पुर्णेन्दु झाले ‘चौका दाउ’ पछि तेस्रो सिनेमाको तयारीमा जुटेका छन् । पाँचवर्षको विश्राम पश्चात उनले नयाँ सिनेमा रोमान्टिक ड्रामाको तयारीमा जुटेका हुन् । वर्किङ टाइटल ‘पिजे ३’ राखिएको सिनेमा घोषणा गर्दै उनले प्रेम कथालाई राधा र रुक्मिणीको माध्यमले व्यक्त गर्ने बताए ।

‘संरक्षण’ मार्फत निर्देशनमा डेब्यु गरेका उनले ‘यो युवापुस्ताको प्रेम कथा हो । यसमा राधा र रुक्मिणी दुवैको व्यक्तित्वसँग पात्र प्रभावित हुनेछन् । यसलाई एक वाक्यमा प्रेम, समर्पण र इर्ष्या भन्न सकिन्छ’, निर्देशक झाले भने । उनले आउँदो वर्ष सन् २०२४ मै सिनेमाको छायांकन गरेर सोही वर्ष हलमा प्रदर्शन गर्ने तयारी गरिएको जानकारी दिए ।

कजेल अफ सिनेमा स्टडीजको पहिलो ब्याचको रुपमा परिचित निर्देशक झाले छोटो सिनेमा ‘अपवाद’ मार्फत निर्देशकीय यात्राको सुरुआत गर्दा नै सम्भावना बोकेका निर्देशकको रुपमा चित्रण गरिएको थियो । त्यसैले उनले तेस्रो सिनेमामार्फत परिपक्कता देखाउनु पर्ने बुझेका छन् ।

‘सिनेमामार्फत उठान गर्न लागेको विषयसँग धेरैले रिलेट गर्नु हुन्छ भन्ने लागेको छ । यसलाई हतार नगरी आफ्नो तरिकाले निर्माण गर्ने तयारीमा छु । यसको स्क्रिप्टमै दुई वर्ष भन्दा बढी समय खर्चिएको छु’, निर्देशक झाले भने ।

उनले भने, ‘अघिल्ला दुई सिनेमा निर्देशनको सिकाईमार्फत प्राप्त गरेको अनुभवलाई नयाँ सिनेमामा प्रयोग गर्दैछु । किनकि यसपटक आम दर्शकलाई मन पर्ने सिनेमाको कथा तयार भएको छ ।’

हाल उनले टाइटल समेत घोषणा नगरेर थिम पोस्टर मात्र सार्वजनिक गरेका छन् । उक्त पोस्टरमा प्रयोग गरिएका शब्द र कलरले आफ्नो कथाको आभाष दिने उनको भनाई छ । नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने सिनेमा नेपालको कम्पनि पुर्णेन्दु प्रोडक्सन्स र भारतीय एक कम्पनिसँगको सहकार्यमा निर्माण हुने जानकारी निर्देशक झाले दिए ।