हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको सम्पादन विधाको जुरीमा भरत

हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको सम्पादन विधाको जुरीमा भरत

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्पादक भरतमणि रेग्मीले अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जल्समा गत नोभेम्बर २८ मा भएको ‘हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३’ मा जुरीको भूमिका निवार्ह गरेका छन् ।

हलिउडको क्रियटिभ पोस्ट ईन्डस्ट्रियल सस्था द हलिउड प्रोफेसनल एसोसिएन (एचपिए) ले हरेक वर्ष आयोजना गर्ने यो अवार्ड यो वर्ष लसएन्जल्सको उत्तरी हलिउडको द टेलिभिजन एकेडेमी वल्फ थिएटरमा सम्पन्न भएको थियो । जहाँ भरतमणिले सम्पादन विधामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

वार्षिक रूपमा आयोजना हुने यो प्रतिष्ठित अवार्डमा थिएट्रिकल र नन थिएट्रिकल अन्तर्गत विशेषत प्राविधिक विधामा अवार्ड प्रदान गरिन्छ । जसमा कलर ग्रेडिङ, सम्पादन, ध्वनि, भिजुअल इफेक्टहरू पर्छन् र हरेक वर्ष उच्च श्रेणीका क्रियटिभ प्राविधिकहरुलाई अवार्ड दिइन्छ । भरत नन थिएट्रिकल फिचर र डकुमेन्ट्री अन्तर्गतको आउस्टेण्डिङ इडिटिङ विधाको जुरी थिए ।

यो वर्ष पनि हलिउडबाट निर्माण हुने फिचर सिनेमाका साथै नेटफिलिक्स, एचबिव, एपल टिभि प्लस, म्याक्स टिभीलगायतका थिएट्रिकल र नन थिएट्रिकल सिनेमा, टेलिभिजन शो, वृत्तचित्र, सिरिजहरुका क्रियटिभ प्राविधिकहरुलाई अवार्ड दिईयो ।

यो वर्ष ‘उत्कृष्ट सम्पादन डकुमेन्ट्री’ अन्तर्गत डकुमेन्ट्री ‘मोनाग डेड्रिम’ का लागि निर्देशक तथा सम्पादक ‘ब्रेट मोर्गन’ ले अवार्ड पाए । ‘उत्कृष्ट सम्पादन नन-थिएट्रिकल अन्डर ३० मिनेट अन्तर्गत डार्क कमेडी क्राईम टेलिभिजन सेरिज ‘बैरी – अ नाईस मिल’बाट सम्पादक अली ग्रीरले अवार्ड पाए ।

‘उत्कृष्ट सम्पादन नन-थिएट्रिकल ओभर ३० मिनेट अन्तर्गत ‘द ह्वाईट लोटस-एरिभेडेरिक’बाट सम्पादक जोन एम भ्यालेरियोले अवार्ड पाए । थिएट्रिकलतर्फ रङ ग्रेडिङ विधामा ‘ओपेनहाइमर’ सिनेमाका लागि फोटोकेम पोष्ट प्रोडक्सन हाउसका कलरिष्ट कोस्टास थिओडोसियो र क्रिस्टन जिम्मरम्यानले अवार्ड पाए भने सिनेमा सम्पादनमा सम्पादक जेनिफर लेमले अवार्ड पाए ।

भिजुअल इफेक्टमा सिनेमा ‘अवतारः द वे अफ वाटर’बाट ‘सर्वोत्कृष्ट भिजुअल इफेक्ट’ श्रेणीमा भिजुअल इफेक्ट आर्टिष्टहरु क्रिस एजेन, निक एपस्टेन, वेन स्टेबल्स, पवानी राव बोड्डापति, वेटा एफएक्सका र सर्गेई नेभ्सुपोभले अवार्ड पाए । ‘उत्कृष्ट कलर ग्रेडिङ’का लागि ‘स्पाइडर-म्यानः एक्रोस द स्पाइडर-भर्स’बाट पिक्चर शप पोस्ट प्रोडक्सन कम्पनीका कलरिष्ट नताशा लियोनेट, ‘हाउस अफ द ड्रयागन’बाट सोनी पिक्चर्स इन्टरटेनमेन्टको पोस्ट प्रोडक्सन कम्पनी पिक्सोमोन्डो र ‘द गडफादर’ बाट प्यारामाउन्ट पिक्चर्सले अवार्ड पाए ।

अवार्ड आयोजकसँग अमेरिकन सिनेमा एडिटर्स, अमेरिकन सोसाइटी अफ सिनेमाटोग्राफर्स र सिनेमा अडियो सोसाइटीले सहकार्य गरेका थिए । भरतका अनुसार आयोजकले उनलाई जुरीका लागि सम्पर्क गरेका थिए । ‘मेरो प्रोजेक्ट, डकुमेन्टेसन सेलेक्सन पछि यो अवसर पाएँ । हामी जुरीले सहभागी सबै सिनेमा हेरेर रिभ्युको सबै प्रक्रिया पुरा गरेर पठाएका थियौं । जुरीहरुको सबै रिभ्यु संकलन पश्चात आयोजकले अवार्ड प्रदान गरेका थिए’, भरतले भने ।

स्क्रिन उद्योगमा स्क्रिन राइटर्स गिल्ड र स्क्रिन एक्टर्स गिल्डको लामो आन्दोलनका कारण धेरै मानिसहरूले आफ्नो जीविकोपार्जन गुमाए र व्यवसायीहरूले आफ्ना व्यवसायहरू बन्द गरे । उद्योगका प्रोफेसनलहरुले बाँच्नको लागि ठुलो दुख खप्नुपर्ने अवस्था बन्यो । लामो आन्दोलनको अन्त्य पछि भर्खर लयमा फर्किन लागेको स्क्रिन उद्योगलाई यसले ठुलो हौसलाको काम गरेको थियो ।

त्यस उद्देश्यका लागि अवार्डमा द हलिउड प्रोफेसनल एसोसिएन (एचपिए) ले निर्माण गरेको ‘पोस्ट प्रोडक्सन समुदायका धैर्यशिल सदस्यहरूलाई हार्दिक सलाम’ भनी वर्णन गरिएको छोटो सिनेमाको प्रदर्शन गरिएको थियो ।