चित्रा रिलिज अगावै ‘चित्रा २’ निर्माण घोषणा

चित्रा रिलिज अगावै ‘चित्रा २’ निर्माण घोषणा

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय नेपालमा पनि सिनेमा रिलिजसँगै पोष्ट क्रेडिटमा सिक्वेल घोषणाको ट्रेण्ड बढ्न थालेको छ । आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चित्रा’ले पनि यो विश्वव्यापी ट्रेण्डलाई पछ्याएको छ । यसअघि ‘कबड्डी ४’ र ‘दिमाग खराब’ले पोष्ट क्रेडिटमा सिक्वेल र स्पिनअफको बन्ने संकेत गरेका थिए ।

सिनेमा सफल भएपछि सिनेमाको सिक्वेल घोषणा गरिनु सामान्य नै हो । तर, सिनेमाको व्यावसायिक नतिजा नै नपर्खी त्यसको सिक्वेल घोषणा गर्ने ट्रेण्ड चलेको छ । ‘चित्रा’को अन्तिममा सिक्वेल घोषणा गरिएको छ । सोमबार राजधानीमा आयोजित सिनेमाको प्रिमियर शोमा यो तथ्य खुलेको हो ।

सिनेमाको सिक्वेलका लागि कथा बाँकी राख्दै अन्त्यमा ‘चित्रा २’ कमिङ सुन भनेर लेखिएको छ । सिनेमालाई टुंग्याइएको स्थान बुझ्दा सिक्वेलमा केही कलाकारलाई निरन्तरता दिइने संकेत गर्छ । सिनेमाको मुख्य भूमिकामा रहेका सन्तोष अधिकारी, प्रमोद अग्रहरी, मेनुका प्रधान र सिम्रन खड्का सिक्वेलमा दोहोरिने देखिन्छ । तर, उनी रहने नरहने बारेमा आधिकारीक जानकारी दिइएको छैन् ।

घनश्याम लामिछानेले नै सिक्वेललाई निर्देशन गर्ने वा अरु कोही निर्देशक रहने भन्ने पनि खुलाइएको छैन् । बाबु-छोरीको सम्बन्धको कथामा आधारित रहेको सिनेमालाई प्रिमियरमा राम्रो प्रतिक्रिया मिलेको छ । विशेषगरी सिम्रन खड्काको अभिनयको सिनेमाकर्मीले प्रशंसा गरेका छन् । त्यसो त यसअघि ‘प्रेमगञ्ज’मा पनि उनको अभिनयलाई रुचाइएको थियो ।

डेव्यु सिनेमामा अभिनेता तथा निर्माता सन्तोष अधिकारीले गरेको मिहिनेतलाई पनि धेरैले राम्रो भनेका छन् । एएसएपी इन्टरटेनमेन्ट नेपाल र अष्ट्रेलिया र सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको चित्रमा आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

सिनेमामा शुभेच्छा खड्का, अर्पण थापा, प्रकाश घिमिरे, अञ्जना बराइली, आयुशी ढकाल, विनोद कुमार पौड्याल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ । महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत र मनिष गौतमको पटकथा एवं संवाद लेखन छ ।