चलचित्र संघले माघ २२ गते देशभरका हल बन्द गर्ने

चलचित्र संघले माघ २२ गते देशभरका हल बन्द गर्ने

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हल सञ्चालकको छाता संस्था चलचित्र संघले माघ २२ गते देशभरका हल बन्द गर्ने भएको छ । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा सिनेमा हल बन्द गर्न लागिएको हो ।

मंगलबार संघले एक विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने जानकारी दिएको हो । सरकारले सिनेमा क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ ।

संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सिनेमा क्षेत्रलाई विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको छ भने मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरुको नलगाउने संहिता विपरीत सिनेमा विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले सिनेमा व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा आगामी माघ २२ गते सोमबार एक दिन मुलुकभरका सिनेमा घरहरु बन्द गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछु ।’

कोरोना महामारीको कारण सिनेमा क्षेत्र धराशायी भएको उल्लेख गर्दै संघले सरकारले थोपरेको करले व्यवसाय सञ्चालन गर्न नसक्ने समेत उल्लेख गरेको छ । चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व देशमा ४५० हल भएपनि अहिले १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ ।