असारमा नेपाल-अमेरिका सिनेमा महोत्सव हुने

असारमा नेपाल-अमेरिका सिनेमा महोत्सव हुने

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकामा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल-अमेरिका अन्तराष्ट्रिय सिनेमा महोत्सवको सातौं संस्करण अगामी वर्षको असार ७ देखि १० गते अर्थात् २०२४ जुन २० देखि २३ सम्म हुने भएको छ ।

अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरिबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ । महोत्सवमा फिचर सिनेमा, वृत्तचित्र, छोटा सिनेमा, एनिमेशनका साथै सबै विधाका सिनेमाहरु प्रदर्शन हुनेछन् ।

नेपाल, अमेरिका र दक्षिण एसियालगायतका देशका स्वतन्त्र सिनेमाहरु महोत्सवको उच्च प्राथमिकतामा पर्ने गरेका छन् । अमेरिकाका वासिङ्गटन डिसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय सिनेमालाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत सिनेमाहरु पनि प्रदर्शन गरिने छन् ।

नेपाल-अमेरिका सिनेमा सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आइरहेको छ । महोत्सवको निर्णायक समितिले आवेदन परेका सिनेमामध्येबाट प्रदर्शनका लागि छनोट गर्नेछ । त्यसमध्ये सर्वोत्कृष्ट सिनेमाहरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । महोत्सवको क्रममा सिनेमा, संस्कृति र प्रविधिका बारेमा छलफल तथा कार्यशाला समेत हुनेछ ।