निफको प्रमुख निर्णायकमा ‘बर्लिन’ विजेता सिए फेई

निफको प्रमुख निर्णायकमा ‘बर्लिन’ विजेता सिए फेई

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बर्लिन फिल्म फेस्टिभलमा दुई पटक अवार्ड जित्ने चाइनिज सिनेमा निर्देसक तथा प्रोफेसर सिए फेई नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ)को फिचर सिनेमा प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् ।

महोत्सव अध्यक्ष केपी पाठकले सिए फेईले निर्णायकको भूमिकासँगै सिनेमा लेखन निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी गराएका छन् । मास्टर क्लासअघि उनको अन्तिम निर्देशन रहेको सिनेमा ‘सङ अफ तिब्बत’ देखाइने अध्यक्ष पाठकले बताए ।

बेइजिङ सिनेमा एकेडेमीबाट निर्देशनमा स्नातक गरेका फेईले सन् १९९० मा निर्देशन गरेको ‘ब्ल्याक स्नो’ले बर्लिनको दोस्रो ठूलो अवार्ड सिल्भर लाइन जितेको थियो भने यसको तीन वर्षपछि उनैले निर्देशन गरेको ‘वुमन सिसम ओइलमेकर’ले बर्लिनको मुख्य अवार्ड गोल्डेन बेयर जितेको थियो । सन् २००० मा ‘सङ अफ तिब्बत’ निर्देशन गरेयता उनले कुनै पनि सिनेमा निर्देशन गरेका छैनन् ।

बेइजिङ सिनेमा एकेडेमीका पूर्व उपाध्यक्ष समेत रहेका सिए फेई सन् १९८० देखि निरन्तर प्राध्यापनमा संलग्न छन् । अहिले विश्व सिनेमामा नाम बनाएका चेन काई, तिआन् झाङझुङ, झाङ यिमाऊ, जिया जाङके सिए फेईकै विद्यार्थी हुन् । ८० वर्षको उमेर पार गरेका सिए फेई अहिले पनि नयाँ पुस्ताका सिनेमाकर्मीका लागि आर्ट कन्सल्टेन्टको रुपमा काम गर्छन् ।

निफामा यो संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका सिनेमाको प्रदर्शनसँगै महोत्सव अवधिभर सिनेमा निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ । महोत्सव आगामी चैत १ देखि ५ सम्म काठमाडौँमा आयोजना हुनेछ ।