करको विरोधमा सोमबार देशभरका सिनेमा हल बन्द

करको विरोधमा सोमबार देशभरका सिनेमा हल बन्द

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हल व्यवसायी तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको निर्णय अनुसार सोमबार देशभरका हलहरु बन्द गरिएको छ । सरकारले विभिन्न नाममा ३३ प्रतिशतभन्दा बढी कर लिन थालेपछि त्यसको विरोधमा मूल्य अभिवृद्धि करबाहेकका अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा हल बन्द गरिएको हो ।

मंगलबारबाट भने हलहरु इथावत् रुपमै सञ्चालनमा आउनेछन् । संघले भनेको छ, ‘सिनेमा क्षेत्रलाई विभिन्न नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको छ । मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागूबाहेक अन्य कर नलगाउने संहिता विपरीत सिनेमा विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करले व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था आएको छ ।’

चलचित्र संघले करको विरोधमा आन्दोलनको तयारी समेत गरिरहेको जनाइएको छ । सरकारलाई दबाबस्वरुप हल बन्द गर्ने निर्णयप्रति सिनेमाकर्मीहरुले समर्थन जनाएका छन् । सरकारले यो विषयलाई चाँडै सम्बोधन गर्नुपर्ने सिनेमाकर्मीहरुको माग छ ।