अभिनय गर्नभन्दा हिमाल चढ्न सजिलो : दीया पुन

अभिनय गर्नभन्दा हिमाल चढ्न सजिलो : दीया पुन

सुरुमा मलाई आफूमाथि शंका थियो । एक त मैले यस्तो(वैवाहिक जीवन) भोगेको छैन । मैले कसरी गर्ने, यो पात्रको भावना कसरी व्यक्त गर्ने भन्नेमा म आफैलाई शंका थियो, निर्देशकलाई पनि भने ।

दिनेश सिटौला
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री दीया पुनलाई सिनेमामा अभिनय गर्नभन्दा हिमाल चढ्न सजिलो लाग्छ रे ।

माओत्से गुरुङको एक्सनकटमा उनी सिनेमाघरमा ‘दयारानी’ सिनेमाबाट झुल्किदैंछिन् । ४ वटा हिमाल चढिसकेकी दियालाई माओत्सेले यो सिनेमाको प्रस्ताव गर्दा सुरुमा यसको कथाका कारण खुशी भइन् तर अफर गरिएको पात्र छिचोल्न चुनौतीको पहाड भयो । सिनेमामा उनी श्रीमतीको भुमिकामा छिन् । व्यतिगत जीवनमा उनी हालसम्म अविवाहित छिन् । उनलाई वैवचाहिक जीवनका आयामहरुको अनुभव कस्तो छ भोगाइ छैन ।

त्यसमाथि नि:सन्तान हुँदाको पीडा कस्तो हुन्छ, श्रीमान्लाई हर्को विवाह गर भन्न कुन भावनाको हुण्डरी सामना गरेर भन्ने सहास जुट्छ उनलाई थाहा छैन । यस्तो चुनौती कडा भएपनि उनले निर्देशन टिमको सल्लाहसहित आफ्नो किसिमले तयारी गरिन् । सिनेमामा उत्कृष्ट दिएको उनको दाबी छ । अब उनलाई दर्शकको प्रतिक्रियाको पर्खाइ छ ।

सिनेमाको सेरोफेरोमा गरिएको कुराकानीमा उत्साहित देखिएकी दीयासँग गरिएको सिनेमा संवाद यस्तो छ:

*’दयारानी’को तपाईंलाई कुन कुराले मुलरुपमा आकर्षित गर्यो जसका कारण यो सिनेमा गर्नुभयो ?

मुख्य त म कथाबाट नै प्रभावित बने । ‘मिस्टर झोले’को सुटिङ भइरहेका समयमा माओत्से गुरुङले मलाई सेटमै आएर यो कथा सुनाउनुभएको थियो । उहाँले कथा भनेपछि यो मलाई रोचक लाग्यो । यसको विषय धेरै सिनेमामेकरले सोच्नु भएको छैन बनाउनुभएको छैन ।

*यो सिनेमा पनि बनेको धेरैपछि रिलिज हुँदैछ, दर्शकले यसलाई ताजा महशुस गर्नुहोला?

ताजा नै महशुस गर्नुहुन्छ किनभने यो सुनिरहेको, देखिरहेको कथा हो । यो पुरानो हुने कथा होइन। के पुरानो कथा सुनाइरहेको भनेर भन्नुहुनेछैन भन्ने मेरो विश्वास छ ।

* यो सिनेमामा तपाईंले अनुभव नभएको भूमिका गरें भन्नुभएको छ । यसका लागि निर्देशकले कस्तो निर्देशन दिनुभयो र स्वयं तपाईंले कस्तो तयारी गर्नुभयो ?

सुरुमा मलाई आफूमाथि शंका थियो । एक त मैले यस्तो(वैवाहिक जीवन) भोगेको छैन । मैले कसरी गर्ने, यो पात्रको भावना कसरी व्यक्त गर्ने भन्नेमा म आफैलाई शंका थियो, निर्देशकलाई पनि भने । उहाँले सल्लाह दिनुभयो अनि मैले आफैलाई पनि अध्ययन गरें । म उहाँको ठाँउमा भएको भए के गर्थे भनेर सोचें, अनि मलाई संसारमा एकदमै चाहिने चिज पाउँदा के हुन्छ भनेर आफैंलाई त्यो ठाउँमा राखेर सोधें । त्यसबाट मैले त्यो पात्रको भावना निकालें, यस्तो यस्यो हुन्छ होला भनेर । ती आएका सबै कुरालाई मैले लेखेरे राखें, पछि निर्देशन टोलीसँग मैले यो पात्रले मलाई यस्तो अनुभव दिन्छ होला भनेर सल्लाह गरें । उहाँले त्यसमाथि थप सुझावहरु दिनुभयो। त्यही आधारमा मैले मेरो पात्र निर्वाह गरें ।

*जस्तो यो पात्र जुन किसिमको तयारीका गर्नुभयो, सिनेमा तयार भइसकेपछि कुनरुपमा आएको अनुभव गर्नुभयो ?

मैले काम गर्दा एक सय दश प्रतिशत गरिराखेको हुन्छु तर जब पछि काम हेर्दा केही न केही कमी भएको सँधै महशुस गर्दछु । अरुले राम्रो गरेको छ भने पनि आफूलाई एकदमै ध्यान दिएर समालोचना गर्छु, त्यो पनि कडारुपमा गर्छु । आफ्नो काम हेर्दा मैले यसलाई अलिक फरक गर्नसक्थें कि भन्ने लागिरहन्छ ।

*यो सिनेमामा गरेको भूमिका, आम भूमिका जस्तो ठाननुहुन्छ वा यो एउटा तपाईंका लागि सम्झनायोग्य भूमिका रहिरहनेछ ?

मैले गरेकामध्ये यो मेरा लागि एकदमै कठिन भूमिका थियो । गार्हो भएतापनि एकदमै मेहेनत गरेको छु, पात्रमा छिर्न पनि सजिलोचाँहि भएन । यो भूमिकाबाट निस्कन पनि मलाई गार्हो भयो । यो पात्रले जुन संवेदना-भावना बोक्छ यसले मेरो व्यक्तिगत जीवनमा पनि प्रभावित पार्‍यो । यसबाट निस्कन मलाई गार्हो भयो । म यो पात्र होइन भन्नचाँहि धेरै असहज भयो ।

*अब तपाईंलाई अर्को सिनेमा हेर्न दर्शकहरुले कति कुर्नुपर्ला ?

कुराहरु चलिरहेका छन्, साइन पनि भएको छ । यो वर्ष सुटिङ हुन्छ अर्को वर्ष देख्न सक्नुहुन्छ ।

*तपाईं धेरै सिनेमा गर्ने सोचमा हुनुहुन्छ कि वर्षको एक्का-दुक्का सिनेमामा काम गर्नुहुन्छ ?

म ‘सेलेक्टिभ नै छु । फरक कथा र फरक भूमिकासँगै रोचक कथा भएको स्क्रिप्टको खोजीमा हुन्छु । त्यही भएर म धेरै सिनेमामा नदेखिएको हुँ । साथसाथमा म अरु काममा पनि व्यस्त छु मलाई मनपर्ने कामहरुबीचको सन्तुलन कायम गर्दा थोरै सिनेमाहरुमा देखिएको हो ।