निर्देशक समाजको ‘१६ औं बार्षिक साधारण सभा’ सम्पन्न, वर्ष निर्देशक बने रामबाबु र सुजित

निर्देशक समाजको ‘१६ औं बार्षिक साधारण सभा’ सम्पन्न, वर्ष निर्देशक बने रामबाबु र सुजित

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आइतबार राधानीमा चलचित्र निर्देशक समाजको ‘१६ औं बार्षिक साधारण सभा’ सम्पन्न भएको छ । समाजको बार्षिक साधारण सभामा निर्देशकद्धय रामबाबु गुरुङ र सुजित बिडारीलाई वर्ष निर्देशकको रुपमा पुरस्कृत गरिएको थियो ।

चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार २०७९ सालमा रिलिज भएको गुरुङ निर्देशित ‘कबड्डी ४’ले सर्वाधिक कमाउने सिनेमा बनेको थियो । बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ सोही वर्ष ओस्कारमा मात्र सिफारिस भएन, दशककै उत्कृष्ट सिनेमाको रुपमा समीक्षा पाएको थियो ।

प्रमुख अतिथिको रुपमा सहभागि अभिनेता राजेश हमालले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए । सोही कार्यक्रममा दीर्घ साधना सम्मान वरिष्ठ निर्देशक यादव खरेललाई प्रदान गरियो । पहिलो नेपाली निर्देशक हीरासिंह खत्री स्मृति सम्मान पहिलो नेपाली रंगिन सिनेमा ‘कुमारी’का निर्देशक प्रेमबहादुर बस्न्यातलाई प्रदान गरियो ।

समाजको बार्षिक साधारण सभामा निर्देशकहरु आकाश अधिकारी, दिनेश डीसी र सम्झना उप्रेती रौनियारलाई स्रष्टा सर्जक सम्मान प्रदान गरिएको थियो । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीका अनुसार अबदेखि हरेक वर्ष व्यवसायिक र समीक्षात्मक कोणबाट उत्कृष्ट हुने सिनेमाका निर्देशकलाई ‘वर्ष निर्देशक’को रुपमा पुरस्कृत गरिने बताए ।

यसका अलवा हरेक वर्ष हीरासिंह खत्री स्मृति सम्मानसमेत प्रदान गरिने जानकारी अध्यक्ष पराजुलीले दिए । कार्यक्रमका प्रमुख अतिथि अभिनेता हमालले सबैजना एकजुट भए सिनेमा ऐन निर्माण कार्यमा आफू सघाउन तयार रहेको बताए । चलचित्र निर्देशक समाजको १६ औं बार्षिक साधारण सभाको अध्यक्षता निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले गरेका थिए ।