चैत्र १६ बाट ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’

चैत्र १६ बाट ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’को पाँचौं संस्करण आगामी चैत १६ गतेदेखि १८ गतेसम्म आयोजना हुने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच महोत्सवमा ३७ देशका सिनेमाले सहभागिता जनाउने जानकारी गराइयो ।

चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा हुने महोत्सवमा ६० वटा सिनेमा प्रदर्शन गरिने आयोजक संस्था नेपाल संस्कृति तथा सिनेमा केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले बताए । तीन दिने महोत्सवमा सिनेमा प्रदर्शनसँगै प्यानल छलफल र मास्टर क्लास पनि राखिएको छ ।

सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ वटा स्वदेशी र १५ वटा विदेशी सिनेमालाई पुरस्कृत समेत गरिनेछ । महोत्सवमा सिनेमा दर्ता र प्रवेश निःशुल्क रहेको जनाइएको छ ।

महोत्सवको अन्तर्राष्ट्रिय निर्णायकहरुमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेन्क, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक र कोरियाकी मिरियम ग्लेजर छन् ।

त्यस्तै, राष्ट्रिय निर्णायकमा मोहन निरौला, शान्तिप्रिय, आचा दवाडी, मोहन राई, सुष्मा कार्की, जय निशान्त र सुवास श्रेष्ठ प्रधान छन् । अध्यक्ष सुवेदीले महोत्सवलाई मानवअधिकार र दिगो विकास जस्ता मुद्धाहरुमा संवादको मञ्चको रुपमा पनि प्रयोग गरिने बताए ।

उनी भन्छन्, ‘मानव अधिकार, दिगो विकास र सांस्कृतिक सृजनशीलताका विषयवस्तुलाई प्रवद्र्धन गर्नु पनि महोत्सवको उद्देश्य हो । महोत्सवले सांस्कृतिक आदानप्रदान र समझदारीको माध्यमको रुपमा सिनेमाको विश्वव्यापी अपिललाई जोड दिनेछ ।’