डोल्पाबाट द्रौपदी’को छायांकन सुरु, अभिनेताको रुपमा डेब्यू गर्दै रवि ओड

डोल्पाबाट द्रौपदी’को छायांकन सुरु, अभिनेताको रुपमा डेब्यू गर्दै रवि ओड

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार डोल्पा जिल्लाको दुनैको कालिका मन्दिरमा शुभमुहूर्त गर्दै निर्देशक ऋषिराज आचार्यले सिनेमा ‘द्रौपदी’को छायांकन सुरु गरेका छन् । ‘नेपाल आइडल’ दोस्रो सिजनका विजेता तथा गायक रवि ओडलाई मुख्य भुमिकामा अनुबन्धित गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो ।

महिलाप्रधान कथामा निर्माण हुन लागेको सिनेमामा निर्देशक आचार्य स्वयंको कथा, पटकथा तथा संवाद छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गर्दै सिनेमा निर्माण गरिने उनको भनाई छ । ‘द्रौपदी’बाट गायक रवि ओडले अभिनेताको रुपमा डेब्यू गर्न लागेका हुन् ।

सिनेमामा रवीका अलवा आश्विनी शाही, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, सीता पौडेल, प्रकाश ज्ञवाली, सुरज अधिकारी लगायतको पनि अभिनय रहनेछ । सिनेमाका सबै कलाकार अडिसनबाट लिइएको हो । गायक ओड स्वयंको संगीत रहेको सिनेमामा मोहन कुमार झिल्लुको छायांकन रहनेछ ।

सिनेमाको स्क्रिप्ट लेखनमा मात्र ४ वर्ष लागेको निर्देशक आचार्यले बताए । उनले यसअघि ५ वटा सिनेमाको निर्देशन गरिसकेका छन् । ऋषिराज आचार्य, विष्णु ठडराई र प्रकाश ज्ञवाली निर्माता रहेको सिनेमाको सह-निर्माता खेमराज भण्डारी र ऋतु आचार्य हुन् । डोल्पा क्षेत्रमै एक महिना सिनेमाको छायांकन हुनेछ ।