नेपाल-युरोपियन यूनियन सिनेमा महोत्सव आयोजना हुने

नेपाल-युरोपियन यूनियन सिनेमा महोत्सव आयोजना हुने

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र ७ गतेदेखि १० गतेसम्म ‘नेपाल-युरोपियन यूनियन सिनेमा महोत्सव’को १३ औं संस्करण आयोजना हुने भएको छ । शुक्रबार लाजिम्पाटस्थित ‘डेलिगेसन अफ द युरोपियन यूनियन टु नेपाल’को कार्यालयमा पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी गराइयो ।

युरोपियन युनियनकी उपप्रमुख डाक्टर जोएल इभोनेटले नेपालसँग दौत्य सम्बन्ध स्थापनाको ५० वर्षको छेको भएकाले यसपटकको संस्करण महत्त्वपूर्ण हुने बताइन् । अभिनेत्री उपासना सिंह ठकुरीलाई एम्बास्डर नियुक्त गरिएको महोत्सव काठमाडौंको सुन्धारास्थित सीडीसी सिनेमामा आयोजना हुनेछ ।

महोत्सवको ओपनिङ सिनेमाको रुपमा मार्टीन म्याकडोनागले निर्देशित सिनेमा ‘द ब्यानशीस अफ इनीशेरीन’ देखाइनेछ भने त्यसपछि शान्ता नेपाली निर्देशित सिनेमा ‘डाय ड्रिम्स’ प्रदर्शन गरिनेछ । महोत्सवको हरेक स्क्रिनिङ्गमा एउटा नेपाली र अर्को युरोपियन सिनेमा प्रदर्शन हुनेछ ।

महोत्सवमा प्रदर्शन हुने युरोपियन सिनेमाहरुमा ‘द ब्यानशीस अफ इनीशेरीन’ (आयरल्याण्ड) सहित मेरियन ब्लिचर निर्देशित ‘मिस भिर्बोग’ (डेनमार्क), इम्यानुएल परभु निर्देशित ‘मिकादो’ (रोमानिया, चेज रिपब्लिक), पिलर पालोमेरो निर्देशित स्कुल गर्लस्’ (स्पेन), एन्टोनियो लुकीच निर्देशित ‘लक्जेम्बर्ग लक्जेम्बर्ग’ (युक्रेन), इभान ओस्ट्रोचोभ्स्की निर्देशित ‘सरभेन्टस्’ (चेज रिपब्लिक, आयरल्याण्ड, रोमानीया, स्लोभाकीया), भिक्टर बोजिनोभल निर्देशित ‘द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड’ (बुल्गेरीया), जाइदा बरग्रोथ निर्देशित ‘टोभ’ (फिनल्याण्ड) र रोड्रिगो सोरोगोएन निर्देशित ‘द बीस्ट’ (स्पेन) छन् ।

यस्तै, नेपाली सिनेमाहरु ‘डाय ड्रिम्स’ सहित गोपाल आचार्य निर्देशित ‘डिभिनेसन्’ (आखत), समाल बज्राचार्य निर्देशित ‘हावाम्यान’, निमा गेलु शेर्पा निर्देशित ‘काठमाडौं मनसुन’, अतिन श्रेष्ठ निर्देशित ‘मखमली उडान’, रजिन महर्जन निर्देशित ‘लेट्स टक् पिरियड’, मिराज रोशन ठकुरी निर्देशित ‘रातो पछ्यौरी’, आकांक्षा कार्की निर्देशित ‘सनाई’, स्वोयन मास्के मानन्धर निर्देशित ‘द बुल’, ‘द काउ’, ‘द काल्फ’, सन्तोष दाहाल निर्देशित ‘द मिराज’ र अनिल कुर्मी निर्देशित ‘रिल’ प्रदर्शन हुनेछन् ।

आगामी १० र ११ अप्रिलमा ‘नेपाल-युरोपियन यूनियन सिनेमा महोत्सव’ सुदूरपश्चिम प्रदेशमा समेत हुने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको हलमा सिनेमाहरु प्रदर्शन गरिनेछ । यसका साथै अप्रिल १५ मा लुम्बिनी प्रदेशको नेपालगञ्ज तथा १९ र २० अप्रिलमा कर्णाली प्रदेशस्थित सुर्खेतको विरेन्द्रनगरमा पनि महोत्सवको आयोजना हुनेछ ।