नेपालमा ओटीटीको बिस्तार हुन नसक्नुको कारण के ?

नेपालमा ओटीटीको बिस्तार हुन नसक्नुको कारण के ?

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सातौं निफमा नेपाली सिनेमाको नयाँ बजार र अवसरबारेमा सरोकारवालाले छलफल गरेका छन् । काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ)मा उनीहरुले यस बिषयमा छलफल गरेका हुन् ।

चलचित्र पत्रकार संघको संयोजनमा आयोजित छलफलमा सिनेमा निर्माता श्रीधर पौडेल, ओटीटी व्यवसायी जनक तामाङ, पुष्पलता न्यौपाने र अभिनेता जितु नेपाल सहभागी थिए । सहजीकरण पत्रकार रघुनाथ सापकोटाले गरेका थिए ।

निर्माता पौडेलले ३५ जिल्लामा रहेका हल संख्या बढ्नुको सट्टा घट्दै गइरहेको बताए । सिनेमा प्रदर्शनमा भन्दा पार्टी प्यालेस, होटल वा रेष्टुरेन्टमा धेरै नाफा कमाउने देखेपछि हल सञ्चालक निरुत्साहित भएको उनको विश्लेषण छ ।

संसारभर ओटीटी प्लाटफर्मले लोकप्रियता पाउँदा नेपालमा बिस्तार हुन नसेककोप्रति उनले चिन्ता व्यक्त गरेका थिए । सिनेमा किनेर ओटीटीमा स्ट्रिमिङ नगर्नाले बजार विस्तार चुनौतीपूर्ण बनेको उनको तर्क छ । पौडेलले भने, ‘कमिसन खानका लागि ओटीटी चलाएको जस्तो देखियो । यसले न त बजार बढ्छ, न दिगो नै हुन्छ ।’

ओटीटी कम्पनीले सिनेमाको प्रचारमा समेत ध्यान नदिएको उनको तर्क छ । ‘ओटीटीमा सिनेमा प्रदर्शन भएपछि प्रचारमा निर्माता निर्देशकले दौडधुप गर्नुपर्ने अनि कलाकारहरु प्रमोसनमा प्रयोग हुनुपर्ने अवस्था छ । ओटीटी कम्पनीले कुनै दायित्व लिइरहेको छैन । मात्रै कमिसन खान ओटीटी चलाएको अवस्था छ,’ पौडेलले भने ।

डिजिटल प्लाटफर्मका सञ्चालक विभाजित हुँदा बजार विस्तारमा बाधा पुगेको हाइलाइट्स नेपालका प्रबन्धक जनक तामाङ बताउँछन् । एउटा पक्षले बनाएको ओटीटीमा अरुले सिनेमा नदिने सिण्डिकेट रहेको गुनासो गर्दै नेपालजस्तो सानो र नयाँ बजार भएको ठाउँमा सबै मिलेर एउटा राम्रो ओटीटी सञ्चालन गर्न सके बजार विस्तारमा सघाउ पुग्छ ।

अभिनेता जितु नेपालले ओटीटीमा खर्च गरेर दर्शकले सिनेमा नहेर्ने गुनासो गरे । ‘हलमा सिनेमा चलिरहेको छैन । केही ओटीटी सञ्चालनमा छन् तर कमाइरहेका छैनन्,’ उनले भने । कोरोना संकटको बेला खुलेका केही ओटीटी समेत बन्द भएको उनले बताए ।

अभिनेता नेपालका अनुसार सामाजिक सञ्जाललगायतका डिजिटल प्लाटफर्म आएपछि सिनेमाको बजार खुम्चिएको छ । ‘यी माध्यम नहुँदा धेरै सिनेमाले हलमा ५१ दिन मनाए । अहिले अवस्था छैन,’ उनले भने । अभिनेता नेपाल दर्शकले पछिल्लो समय पैसा नतिरी युट्युबमा निःशुल्क सिनेमा हेर्न चाहेको बताउँछन् । धेरै दर्शकले युट्युबमा फिल्म खोज्ने गरेको उनको बुझाइ छ ।

पछिल्लो समय आफूले बनाएको सिनेमाको प्रतिलिपि अधिकार आफैंले राख्नुपर्ने ज्ञान आर्जन गरेको समेत उनले बताए । ‘मैले धेरै टेलिसिनेमा बनाएँ । टेलिभिजनलाई दिएँ । अहिले लाखौं भ्युज कमाएको छ । हामी पछि परेका छौं,’ उनले भने । पछिल्लो समय युट्युब केन्द्रित कार्यक्रम बनाउने कि टेलिभिजन वा ओटीटीका लागि बनाउने भन्नेमा आफू दोधारमा रहेको अभिनेता नेपालले बताए ।

सिनेपेवलकी न्यौपाने भने ओटीटी प्लाटफर्मको सम्भावना रहेको तर्क गर्छिन् । उनका अनुसार दार्जिलिङ, सिक्किममा नेपाली भाषाको सिनेमा बनाएर नेटफ्लिक्स लगायतमा बिक्री भइरहेका छन् । संसारभर छरिएका सात करोड नेपालीभाषीले ओटीटीबाट पैसा तिरेर नेपाली सिनेमा हेर्न चाहेको तर नेपाली सिनेमाकर्मीले यस क्षेत्रमा काम नगरेको उनको गुनासो थियो ।