दयाहाङलाई प्रश्न – विनोद चौधरीले टिजर सेयर गर्नु अपेक्षित थियो ?

दयाहाङलाई प्रश्न – विनोद चौधरीले टिजर सेयर गर्नु अपेक्षित थियो ?

पढेलेखेको मान्छेको असन्तुष्टि के हो ? ऊ त्यो ठाउँसम्म किन पुग्यो, उसमा अहमता जन्मिनुको कारण के हो भन्ने कुरा महसुस गराउने काम सिनेमाले गराउँछ होला ।

द सिनेमा टाइम्स
749
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई मुख्य भूमिकामा रहेको रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला’ यही चैत ३० गते रिलिज हुँदैछ । मास्टर डिग्री गरेको मान्छेको अहंमतामा केन्द्रित रहेर बनेको सिनेमाको उक्त क्यारेक्टरमा दयाहाङ छन् । उनले केही वर्ष अगाडि निर्देशन गरेको यो नाटकमा अहिले सिनेमा बनेको छ । यही सिनेमाको सेरोफेरोमा रहेर दयाहाङ राईसँग गरिएको छोटो कुराकानी :

सिनेमामा डिग्री माइलाको क्यारेक्टरमा हुनुहुन्छ, रियल लाइफमा चाहिँ मास्टर डिग्री गर्नु भयो ?
भोजपुर र काठमाडौंमा कलेज पढियो । पत्रकारितादेखि संगीत पनि ट्राइ गरियो । ०५८ सालसम्म त राजनीतिमा पनि सक्रिय भएर लागियो । त्यसपछि अरु कुराले नै आकर्षित गर्यो । साहित्य कलाले आकर्षित ग¥यो । त्यतैतर्फ केन्द्रित भइयो ।

एकेडेमिक सर्टिफिकेटको पनि महत्व हुन्छ । डिग्री गरेको भए मैले पनि मास्टर डिग्री गरेको छु भन्ने हुन्थ्यो । रियललाइफमा मास्टर डिग्री नगरे पनि क्यारेक्टरमै भए पनि डिग्री गरियो ।

सिनेमाको कन्सेप्ट कसरी बनेको थियो ?
रामबाबु गुरुङ, म र अरु केही साथी सिनेमा बनाउनेबारे छलफल र बहस गर्थ्यौं । कथा के हुनसक्छ भन्ने क्रममा मैले गाउँमा देखेको एक पात्रका बारेमा सुनाउँथे । त्यो क्यारेक्टर सबैलाई मन प¥यो ।

त्यो क्यारेक्टर के थियो भने अंग्रेजीमा डिग्री गरेको । तर गाउँमा बसेर रक्सीमा भुल्ने । मदिरामै रमाउने । सडकमै सुत्ने । देश विदेश, कला, साहित्य, राजनीतिबारे सबै जान्ने तर केही काम नगर्ने ।

रामबाबुले पनि गाउँमा यस्तै क्यारेक्टर देखेको रहेछ । त्यसैले यो क्यारेक्टरमा सिनेमा बनाउने हामीले त्यही बेला प्रण गरेका थियौँ । तर विभिन्न कारणले त्यो समय सिनेमा बनाउन सकेनौँ । कबड्डी बन्यो ।

कृति वा नाटकमा बनेका सिनेमा त्यति धेरै सफल भएका छैनन्, यो नाटक मनपराइएको थियो । नाटकजत्तिकै राम्रो सिनेमा नहोलाकी भन्ने कतिको डर छ ?
हाम्रो योजना सुरुमा सिनेमा बनाउने नै थियो । अनागरिक पछिको योजना थियो यो सिनेमाको । तर विभिन्न कारणले सिनेमा बनाउन सकिएन । बरु त्यसपछि कबड्डी बन्यो ।

मैले सिनेमा बनाउने भनेको क्यारेक्टरलाई टिपेर नाटक बनाएँ । त्यसैले वास्तवमा भन्ने हो भने नाटकमाथि बनेको सिनेमा होइन । सिनेमाको कन्सेप्टमा चाहीँ वास्तवमा नाटक बनेको थियो । तर यही नाममा र यही मुख्य क्यारेक्टरमा नाटक अगाडि नै मञ्चन भएकाले नाटकमा आधारित सिनेमा भनेजस्तो भएको मात्रै हो ।

‘डिग्री माइला’ आफ्नै निर्देशन थियो । सिनेमामा अर्काको निर्देशनमा काम गर्नुभएको छ, अर्काको निर्देशनमा काम गर्दा केही फरक अनुभव रह्यो ?
‘डिग्री माइला’को कन्सेप्ट रामबाबु गुरुङ र म दुवैको हो । हाम्रो पुस्ता भाइपुस्तासँग रमाउने र अग्रजसँग भाग्ने रहेछ । यही कुराको रियलाइजेसन पनि हो क्यारेक्टर र सिनेमा ।

नाटक र सिनेमा फरक फर्म हो । मैले परिकल्पना गरेको क्यारेक्टर नाटकमा गरिसकेँ । सिनेमामा आउँदा यो फरक हुन्छ । सिनेमा र नाटक दुवैमा काम गरिरहेको भएकाले पनि मलाई यसमा कन्फ्युजन भएन ।

ट्रेलर हेर्दा तपाईं शिक्षण पनि गर्नुहुन्छ कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ, रियललाइफमा शिक्षक भएर काम गर्नुभएको छ ?
शिक्षक भएर काम गरेको पनि अनुभव छ, मलाई । विद्यार्थीलाई पनि पढाएको छु । वास्तवमा पढाउने काम सजिलो होइन । हरेक विद्यार्थीको स्वभाव फरक-फरक हुन्छ । उनीहरूको मनोविज्ञान बुझेर पढाउनुपर्छ । पढाउन निकै कठिन कुरा हो, पहिला त आफूले जान्नु पर्यो । जानेको कुरालाई सहज रूपले बुझाउनु पर्छ । यसका लागि कुन विद्यार्थी कुन मनोदशाबाट गुज्रिरहेको छ भन्ने पनि बुझ्नुपर्छ ।

‘डिग्री माइला’ले पढेलेखेको मान्छेमा घमण्ड हुन्छ भन्ने सन्देश त दिने होइन ?
त्यस्तो नहोला, पढेलेखेको मान्छेको असन्तुष्टि के हो ? ऊ त्यो ठाउँसम्म किन पुग्यो, उसमा अहमता जन्मिनुको कारण के हो भन्ने कुरा महसुस गराउने काम सिनेमाले गराउँछ होला ।

विनोद चौधरीले टिजर सेयर गर्दै दयाजी मैले वर्षदिनमा कमाउने तपाईंले एउटै सिनेमाबाट कमाउनुहुन्छ होला हैन भन्नु भएको थियो । कस्तो लाग्यो ?
नेपालकै व्यवसायिक रूपमा सफल व्यक्तिले त्यसरी सेयर गर्नुभनेको आफैँमा अपेक्षाकृत कुरा हैन । हाम्रा लागि खुसीको कुरा हो । केही हदसम्म प्रचार पनि भयो होला, यो पनि खुसीकै पक्ष हो ।

हाम्रो सिनेमा बजार सानो छ, सबैले सिनेमा हेर्दैनन् भन्ने गरिन्छ । उद्योगी व्यवसायीलाई पनि चासोको विषय भएछ भन्ने पनि लाग्यो यसअर्थ पनि खुसी लाग्यो । वास्तवमा विनोद चोधरीसँग मेरो भेट भएको छैन । उहाँको छोरासँग चाहिँ भेट भएको छ ।