दलित आयोगले ‘पुजार सार्की’को प्रवर्द्धनमा सघाउने

दलित आयोगले ‘पुजार सार्की’को प्रवर्द्धनमा सघाउने

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राष्ट्रिय दलित आयोगका पदाधिकारी र जेठ १० गते रिलिज हुने नेपाली सिनेमा ‘पुजार सार्की’को टिमबीच छलफल भएको छ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथामा आधारित भएर निर्माण भएको सिनेमाप्रति आयोगले चासो देखाउँदै ललितपुरको कुपण्डलोस्थित कार्यालयमा छलफल कार्यक्रम राखेको थियो ।

सिनेमाको टिमसँग आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै सिनेमाका बारेमा जानकारी लिए । सिनेमाको टिमलाई स्वागत गर्न आयोगले विशेष कार्यक्रम नै राखेको थियो । सिनेमाका अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीको कार्यक्रममा उपस्थित थिए । लेखक सुवेदीले आयोगलाई सिनेमाको कथावस्तुबारे जानकारी दिँदै ‘पुजार सार्की’ आफूले देखेको घटनामा आधारित रहेको बताए ।

आयोगसँगको छलफलमा सहभागी हुँदै सुवेदीले भने, ‘मैले आफ्नो गाउँ ठाउँमा देखेको घटनामा सिनेमा लेखेको हुँ । सिनेमामा उल्लेखित केही घटनालाई प्रगतिशील विचार राख्नेहरूले समेत मुख्र्याइँको रूपमा लिने गरेका छन्, जुन कुरा बाहिर आउन जरुरी छ । यसले हाम्रो समाजको दृष्टिकोण अझै बदलिएको रहेनछ भन्ने मलाई लाग्यो ।’

कमर्सियल कलाकारहरू र प्रस्तुतिसहित सिनेमाबाट जात भन्ने चीज नै मानवीय दृष्टिमा स्वीकार्य हुँदैन भन्ने कुरा स्थापित गर्न खोजिएको लेखक सुवेदीले स्पष्ट पारेका थिए । ‘तत्कालीन राजा महेन्द्रले मुलुकी ऐन अन्त्य गरेर छुवाछुत जघन्य अपराध हो भन्ने स्वीकार गरे, त्यो दिनदेखि २०४६ सालको ५६ दिनको आन्दोलनको पेरिफेरिमा सिनेमाको कथा घट्छ’, उनले भने ।

अभिनेत्री अञ्जना बराइलीले आफू पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले बच्चैदेखि देखेको विभेद स्मरण गरिन् । सिनेमाको कथा सुनेपछि काम गर्न उत्साहित भएको बताउँदै उनले सिनेमा गर्ने बेला धेरै कुरा सिक्न पाएको धारणा व्यक्त गरिन् ।

अभिनेत्री परीक्षा लिम्बुले भनिन्, ‘जुन समुदाय र स्थानमा म हुर्किएँ, त्यहाँबाट हेर्दा अझै पनि यस्तो कथामा सिनेमा बनाउन जरुरी छ र ? भन्ने लागेको थियो । जातीय विभेद त अब सकिसक्यो, यस्तो कथामा पनि सिनेमा बनाउनु पर्छ र भन्ने भएको थियो । जब सिनेमाको कथा सुनेँ र जहाँ छायांकन भयो, त्यहाँको परिस्थितिले मलाई अचम्मित बनायो । त्यहाँ धेरै कुरा देख्ने र बुझ्ने मौका पाएँ ।’

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले ‘पूजार सार्की’ निर्माण भएकोमा खुसी व्यक्त गरे । उनले सिनेमालाई आयोगले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘जातीय विभेदको विषय १४ प्रतिशत दलित समुदायको मात्र होइन, यसले हाम्रो देशको अर्थतन्त्रमै गम्भीर असर पारेको छ । यो कुराको अन्त्यका लागि सिनेमा बनाएर जुन कदम चालिएको छ, त्यसका लागि सम्मान छ’, अध्यक्ष विश्वकर्माले भने ।

दलित आयोगका सदस्यहरू मिना देवी सोव, टुन्जे कामी, मेहले पार्की र सुन्दर पुर्कुटीले पनि सिनेमाले उठाएको विषयको प्रशंसा गर्दै यसले जातीय विभेद अन्त्य गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

सिनेमामा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परिक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिनेमा दिनेश राउतले निर्देशन गरेका हुन् । सिनेमालाई संगीतकार सुवास भुषालले निर्माण गरेका हुन् ।