जातिय विभेद अन्त्यका लागि ‘पुजार सार्की’ पहिलो पाइला हो : दिनेश राउत

जातिय विभेद अन्त्यका लागि ‘पुजार सार्की’ पहिलो पाइला हो : दिनेश राउत

यो सिनेमा कास्कीकोटमा नै घटेको एउटा घटनामा प्रभावित भएपनि कथा र पटकथा काल्पनिक भएको उनले बताए । सिनेमा २०४६ सालको सेटअपमा तयार पारिएको पनि उनले खुलाए ।

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘प्रकाश’बाट राष्ट्रिय अवार्ड विजेता निर्देशक दिनेश राउत यतिवेला आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पुजार सार्की’को पोष्ट-प्रोडक्सनसँगै प्रचारमा व्यस्त छन् । उनी विभिन्न मिडियामा पुगेर दर्शकलाई सिनेमाको कथावस्तु बुझाई रहेका छन् । सिनेमाका सार्वजनिक प्रचार सामाग्रीले पनि दर्शकमाझ  हाइप बनाएकाले बक्सअफिसमा राम्रो व्यापार गर्ने विश्वास निर्माण टिमलाई छ ।

‘हामीले यसपटक जात नै हुँदैन भन्ने भावना सिनेमामार्फत व्यक्त गरेका छौँ । मिश्रित समाज नै नेपालको सुन्दरता हो भन्ने भावनालाई सिनेमाले व्यक्त गर्छ । यो सिनेमा भन्दा माथिरहेर विभेदको कथा भन्ने ठाउँ मैले देखेको छैन’, निर्देशक राउतले भने ।

सिनेमाको टिजर र ट्रेलर सार्वजनिक भएपछि यो सिनेमा केही वर्ष अघि रुकुममा घटेको नवराज बिकको घटनाबाट प्रभावित भएको चर्चा सिनेमा बजारमा चलिरहेका थिए । यो विषयमा निर्देशक राउत यस्ता प्रकृतीका घटनामा नेपालमा सदियौंदेखि चल्दै आएकाले रुकुम घटनासँग ‘पुजार सार्की’को कुनै सम्बन्ध नभएको बताए ।

यो सिनेमा कास्कीकोटमा नै घटेको एउटा घटनामा प्रभावित भएपनि कथा र पटकथा काल्पनिक भएको उनले बताए । सिनेमा २०४६ सालको सेटअपमा तयार पारिएको पनि उनले खुलाए । सिनेमामा अभिनेता आर्यन सिग्देलको पात्र उनकै बुवाको लुक्सबाट प्रभावित रहेको पनि उनले जानकारी दिएका हुन् ।

‘आर्यनलाई फरक देखाउने तयारी थियो । त्यो समयमा कस्तो देखाउने भनेर लेखकसँग छलफल हुँदा नै उनको बुवालाई सम्झे र आर्यनलाई बुवाको फोटो पठाउन अनुरोध गरेको थिए । आर्यनले बुवाको तस्बिर पठाएपछि लुक्स ओके गरेका हौँ’, निर्देशक राउतले भने । उनले आर्यनमा रहेको पूर्ण क्षमता अझै बाहिर नआएको पनि दाबी गरेका छन् ।

‘आर्यनको अभिनय क्षमतालाई हामीले प्रयोग गर्न सकिरहेका छैनौं । यसपटक मैले आर्यनसँगै प्रदीपमा देखेको क्षमतालाई बाहिर ल्याउने कोसिस गरेको छु । उनीहरू सबै खाले भूमिका निर्वाह गर्न सक्ने कलाकार हुन्’, उनले भने । सिनेमामा अन्तरजातीय विवाहका लागि गरिरहेको संघर्षको कथालाई हेर्न सकिन्छ । शिक्षित युवाले जात हैन भन्ने संदेश प्रवाह गर्नुका साथै रुपान्तरणका लागि उनले प्रयाश निर्देशक राउतले गरेका छन् । सिनेमामा पल शाह, अञ्जना बराइली र परिक्षा लिम्बुको पनि महत्त्वपुर्ण भुमिका रहेको छ ।

निर्देशक राउतले नेपालमा व्यावस्था परिर्वतन भएको लामो समय भएपनि विभेद परिर्वतन नभएकाले आफु र आफ्नो टिमले विभेद परिर्वतनको लागि सिनेमाको माध्यमबाट सानो प्रयास गरेको बताउँछन् । सिनेमा ठुलो मासमा जाने र परिर्वतनको संवाहकको रुपमा समेत रहेकाले पनि आफ्नो टिमले ‘पुजार सार्की’को माध्यमबाट नेपालमा विभेदको चपेटामा रहेको दलित समुदायको उत्थानको लागि पहिलो पाइला चालेको दाबी निर्देशक राउतको छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिनेमामा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परिक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमाको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले प्रकाशमा सहकार्य गरेका थिए । सिनेमालाई संगीतकार सुवास भुषालले निर्माण गरेका हुन् । सिनेमाका गीतमा संगीत समेत उनी आफैले भरेका छन् ।

राजेश श्रेष्ठको डिओपी रहेको सिनेमामा भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । यो सिनेमालाई नेपालमा आरआर फिल्मस् र विदेशमा एमएसएमले वितरण गर्दैछन् ।