‘पुजार सार्की’बाट पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्वीर

‘पुजार सार्की’बाट पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्वीर

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पल शाह सिनेमा ‘पूजार सार्की’को प्रचारसँगै अर्को एक सिनेमाको छायांकनमा व्यस्त छन् । लभर ब्वाईको रुपमा परिचित उनी पहिलो पटक ‘पूजार सार्की’ले चरित्रमा विविधता दिन सक्ने अभिनेताको पहिचान दिलाउन सक्ने देखिन्छ । किनकि, यो सिनेमामा उनले करिअरमै पहिलोपटक भिन्न चरित्र निर्वाह गरेका छन् ।

सिनेमामा उनको जातीय विभेदविरुद्ध संघर्ष गर्ने चरित्र छ । यसअघि सार्वजनिक भैसकेका टिजर र ट्रेलर हेर्दा उनको चरित्र विद्रोही स्वभावको देखिन्छ । बन्दुक भरेका उनको लुक्स र गेटअप ९० दशकको छ । उनको लुक्सले सिनेमाप्रति दर्शकको उत्सुकता बढाइरहेको अवस्थामा मंगलबार सार्वजनिक दुईवटा तस्वीरले ‘सरप्राइज’ बनाउ देखिन्छ । उक्त तस्वीरमा उनी वृद्ध लुक्समा प्रस्तुत छन् ।

पलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरमा उनको कपाल र दाह्री सेतै फुलेको छ । आँखामा चश्मा छ । शिरमा ढाका टोपी र स्टकोट लगाएका उनलाई प्रहरीहरुले समातेका छन् । प्रहरीसँग उनको ठेलमठेल चलिरहेको छ । यो कुनै आन्दोलनको दृश्य जस्तो देखिन्छ । टिजर र ट्रेलरमा युवा अवस्था देखिएका उनलाई सिनेमामा वृद्ध अवस्थामा पनि देख्न सकिने यी तस्वीरले बुझाउँछ ।

पलले प्रहरीसँग मुठभेडको तस्वीर सेअर गर्दै लेखेका छन्, ‘मेरो करिअरमा महत्त्वपूर्ण सिनेमा ‘पूजार सार्की’ सावित हुनेमा ढुक्क छु । आज मैले सिनेमामा मेरो अभिनयबाट यो तस्वीर सार्वजनिक गरेको छु । यसबाट तपाईँहरुले सिनेमामा मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउनु हुन्छ । यसअघि पनि मेरो चरित्र चित्रण हुने तस्वीरलाई लिएर देखाउनुभएको प्रेम अतुलनीय छ ।’

जेठ १० गते बिहीबार बुद्ध जयन्तीबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमामा पलका अलवा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली र परीक्षा लिम्बू पनि मुख्य भूमिकामा छन् । दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको ‘पूजार सार्की’लाई संगीतकार सुभाष भुसालले निर्माण गरेका हुन् ।