दयाहाङ भन्छन्- ‘गाउँ आएको बाटो घरेलु दर्शकले मन पराउने सिनेमा हो’

दयाहाङ भन्छन्- ‘गाउँ आएको बाटो घरेलु दर्शकले मन पराउने सिनेमा हो’

आम नेपालीले देखेको र भोगेको कथा हुनु र त्यो पनि सामान्य तरिकारले बुझिनेगरी भनिएकाले दर्शकले सिनेमा मनपराउने उनको तर्क छ ।

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राईले इन्टरनेसनल सिनेमा महोत्सवमा गएका सिनेमालाई पनि घरेलु बजारका लागि बनेका सिनेमालाई जस्तै गरेर हेर्नुपर्ने बताएका छन् । हरेक सिनेमा आफैँमा भिन्न र स्वतन्त्र हुने भएकाले त्यसको कसैसँग तुलना नहुने उनको भनाइ छ ।

यो प्रसंगलाई उनी जोड्छन् सिनेमा ‘गाउँ आएको बाटो’सँग । इन्टरनेसनल सिनेमा महोत्सवमा गएका सिनेमामा धेरै भिजुलमा धेरै प्रयोग गरेकाले बुझ्न केही कठिन हुने उनी बताउँछन् । यो सिनेमामा खासै धेरै केही प्रयोग नगरिएकाले घरेलु दर्शकले पनि सजिलै मन पराउने उनको दाबी छ । तर विदेशी सिनेमा महोत्सवमा गएको सिनेमा भन्दैमा धेरै अपेक्षा र निश्चित माइन्डसेट बनाएर भने जान नहुने दयाहाङको धारणा छ ।

‘यो सिनेमा विदेशी महोत्सवमा पनि गयो । विश्वभरका दर्शकले रुचाए पनि । त्यसैले यहाँ पनि दर्शकले रुचाउनुहुन्छ भन्ने लाग्छ,’ दयाहाङ भन्छन्, ‘यो सिनेमा विदेशमा विभिन्न लेयरमा कथा भएकाले रुचाइयो । जस्तै बाउ र छोरोको कथा एउटा लेयरमा छ । अर्को लेयरमा गाउँमा सडक पुगेपछिको त्यसको असरको कथा छ ।’

आम नेपालीले देखेको र भोगेको कथा हुनु र त्यो पनि सामान्य तरिकारले बुझिनेगरी भनिएकाले दर्शकले सिनेमा मनपराउने उनको तर्क छ । हरेक सिनेमा आफैँमा फरक हुने भएकाले एउटासँग अर्को तुलना नहुने उनको जीकिर छ । त्यसैले यो सिनेमा यस्तो र यतिसम्म होला भनेर हेर्न जानुभन्दा पनि स्वदेशी बजारका लागि बनाइएका जस्तै गरेर हेर्न जानुपर्ने उनको धारणा छ ।

‘गाउँ आएको बाटो’मा दयाहाङ ‘राई माइला’को क्यारेक्टरमा छन् । उनको क्यारेक्टर गाउँमा डोका, डाला, मान्द्रा, चित्रा, नाङ्ला बनेर बस्नेछ । यसमा उनको क्यारेक्टर गज्जवको देखिएको छ । प्रायः धेरै सिनेमाको पात्रमा अभिनेताले न्याय गर्न नसक्दा चरित्र नै खल्लो देखिन्छ । तर दयाहाङको लुक्स र अहिलेसम्म आएका भिडियो कन्टेनले उनको अभिनय दमदार रहेको देखिएको छ ।

नवीन सुब्बाले निर्देशन गरेको सिनेमा ‘गाउँ आएको बाटो’मा दयाहाङ खरो उत्रिएको अहिलेसम्ममा सिनेमाका सामग्री र उनको अभिव्यक्तिले पनि प्रष्ट पार्छ । उनले आफूले यो सिनेमाबाट यो खालका चरित्रमा कसरी काम गर्ने, कसरी चरित्रमा काम गर्ने भनेर सिकेर आएको बताएका छन् । आफ्ना आउँदा सिनेमामा ‘गाउँ आएको बाटो’मा सिकेको कुरा लागु गर्दै जाने पनि बताएका छन् ।

दयाहाङ वर्षमै दर्जनको छेउछाउ सिनेमा खेल्ने अभिनेता हुन् । उनले अहिलेसम्म सयबढी सिनेमामा काम पनि गरिसके । तर राईकै कथामा काम गरेको यो पहिलो सिनेमा हो । त्यसले पनि यो सिनेमा उनका लागि खास छ । त्यसमा पनि राई कम्युनिटीले लगानी गरेको सिनेमा हो । स्वदेश र विदेशमा गरी तीन दर्जनभन्दा धेरै राई समुदायका व्यक्तिले यो सिनेमामा लगानी गरेका छन् ।

आफ्नै जातिको कथा, संस्कार, संस्कृति, आफ्नै गाउँठाउँको परिवेश, पात्र र पेसाको कथा सिनेमाले भनेकाले पनि दयाहाङले यो सिनेमामा मिहिनेत गरेका छन् । आफैँले देखेको आफ्नै परिवेशको कथा सिनेमाले भनेको र आफ्नै संस्कार र संस्कृतिको कथा भनेकाले पनि उनलाई चरित्रमा केही न केही सहज पनि भयो होला । त्यसैले पनि यो सिनेमा धेरैले मन पराउने उनको विश्वास छ ।

गाउँमा सडक पुगेपछि त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा सिनेमाले उदिनेको छ । सडक गाउँमा पुगेपछि समाजका धनीमानी र टाठाबाठालाई थप सहज हुन्छ । तर गरिबलाई त्यसले झन गरिब बनाउँदै लैजान्छ । जस्तै : परम्परागत पेसा संकटमा पर्छ । गोरु जोत्नेलाई हाते ट्याक्टरले विस्थापित गरिदिन्छ । चित्रा, मान्द्रालाई पालले विस्थापित गरिदिन्छ । अनि यो बेचेर गुजारा चलाउनेको पेसा संकटमा पर्छ । यही पात्रको भूमिकामा दयाहाङ छन् । यही कथा दयाहाङमार्फत् नवीनले ‘गाउँ आएको बाटो’मार्फत भन्दैछन् ।

त्यसैले त दयाहाङ भन्छन्, ‘सिनेमाले गाउँमा गाडी सँगै धेरै कुरा आएको र त्यसपछि त्यसैले गाउँबाट धेरै कुरा लगेको कथा भन्छ ।’ हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुने भन्दै सडकसँग पनि यो कुरा जोडिनेको उनको भनाइ छ । ‘गाउँमा गाडी बाटो आयो बाटोसँगै गाडी आयो । त्यसले गाउँबाट धेरै कुरा लैजान्छ,’ दयाहाङ अगाडि थप्छन्, ‘यही कुरा नै यो सिनेमाको कथाले भन्ने । गाउँमा सडक पुगेपछिको कथा र त्यसले ल्याउने सकारात्मक र नकारात्मक परिवर्तन यो सिनेमाले भन्नेछ ।’

त्यो सँगै ‘गाउँ आएको बाटो’ सडकले बाउछोराको सम्बन्धमा पार्ने प्रभावको कथा पनि हो । सडकले गाउँमा सपनाहरू लिएर आउँछन् । त्यसँगै दुःख पनि लिएर आउँछन् । त्यो दुःख टार्न बाउले गर्ने संघर्षको कथा यो सिनेमाको कथा रहेको उनी बताउँछन् ।

‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट चित्रा र डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सातवर्षे छोरा बिन्द्रे (प्रसन राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा भन्छ ।

परम्परागत जीवनशैलीले जीवन धान्न नै कठिन हुन थालेपछि के गर्ने भनेर मूल पात्रले लिने निर्णयमा सिनेमाको कथा केन्द्रित रहेको निर्माण पक्षले बताएको छ । बाबुआमा र उनीहरूको छोरा विकाससँगै बदलिएको परिस्थितिमा नयाँ संसारमा कसरी घुलमिल हुन्छन् र सपना फेरिन्छन् भन्ने कथा सिनेमाले भन्ने निर्माण पक्षले बताउँदै आएको छ ।

‘गाउँ आएको बाटो’ आउँदो जेठ २५ बाट रिलिज हुने सिनेमामा दयाहाङ राई, पशुपति राई र प्रसन राई प्रमूख भूमिकामा छन् । ‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो ।

टोरोन्टो र बुसान सिनेमा महोत्सवमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।

यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।