नवीन भन्छन्- ‘गाउँ आएको बाटोले फेस्टिभल र घरेलु सिनेमाका दर्शकलाई जोड्दैछ’

नवीन भन्छन्- ‘गाउँ आएको बाटोले फेस्टिभल र घरेलु सिनेमाका दर्शकलाई जोड्दैछ’

नवीनले यो पटक पनि कथा भन्ने आफ्नो धर्म बिर्सिएनन् । पूर्व पहाडको कथा भन्न नवीन भोजपुर पुगेर राई समुदायको कथा भने ‘गाउँ आएको बाटो’मार्फत ।

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक नवीन सुब्बा अहिले कसरी विदेशी सिनेमा महोत्सवमा गएका सिनेमाका दर्शक र घरेलु दर्शकका लागि बनेका सिनेमाका दर्शकलाई जोड्ने भन्ने दौडधुपमा छन् । यो दौडधुपका लागि उनले माध्यम बनाएका छन्, सिनेमा ‘गाउँ आएको बाटो’लाई ।

‘गाउँ आएको बाटो’ले फेस्टिभलमा गएका सिनेमा र घरेलु बजारका लागि मात्रै बनेका सिनेमाका दर्शकलाई जोड्ने नवीन बताउँछन् । नेपाली सिनेमाको घरेलु बजारलाई ठूलो आकार दिन आफू प्रयासरत रहेको उनको भनाइ छ ।

मनोरञ्जन प्रधान र विषय प्रधान दुवै सिनेमा हेर्ने दर्शक तयार पार्न सके नेपालभित्रै ठूलो बजार बन्ने उनको भनाइ छ । त्यसैले यी दुवै दर्शकलाई लक्षित गरेर सिनेमा बनाउनु पर्नेमा उनको जोड छ ।

नवीन यो पटक यही उद्देश्य लिएर आफूले सिनेमा बनाएको उनको भनाइ छ । ‘मैले यो पटक फेस्टिभलमा जाने सिनेमा मन पराउने दर्शक र घरेलु दर्शकलाई मात्रै लक्षित गरेर बनाउने सिनेमा मन पराउने दुवै दर्शकलाई लक्षित गरेर बनाएको छु,’ उनी भन्छन्, ‘आफ्ना विषय पनि उठान गर्ने र दर्शकलाई मनोरञ्जन पनि दिने सिनेमा बनाएको छु ।’

नवीन प्रायः आफ्ना सिनेमामा धेरै नयाँ प्रयोग गर्न रुचाउने निर्देशक हुन् । तर यो पटक आफूले खासै केही प्रयोग नगरेको बताउँछन् । सबैले सहजै रुचाउने खालको सिनेमा बनाएको उनी बताउँछन् । त्यसैले पब्लिसिटी पनि अरु आम सिनेमाले जस्तै गरिरहेका छन् ।

घरेलु दर्शकले मन पराउने सिनेमा बनाए पनि उनले कथा भन्न भने छुटाएका छैनन् । गाउँको एक निम्नबर्गीय परिवारको कथा भनेका छन् । मौलिक कथा भन्नु उनको विशेषता नै हो । ‘नुमाफुङ’ मार्फत् उनले लिम्बू समुदायको कथा भनेका थिए । नन् एक्टरलाई लिएर उनले सिनेमा बनाएका थिए ।

त्यसअघि ‘खांग्री’मार्फत हिमाली भेगमा बस्ने शेर्पा समुदायको कथा भनेका थिए । ‘गुडबाई काठमाडौं’ मार्फत तीनवटा छुट्टाछुट्टै कथा भनेका थिए । जुन आफैँमा प्रयोग थियो । तर यो सिनेमा भने रिलिज भएको छैन । यस्तै नवीनले यो पटक पनि कथा भन्ने आफ्नो धर्म बिर्सिएनन् । पूर्व पहाडको कथा भन्न नवीन भोजपुर पुगेर राई समुदायको कथा भने ‘गाउँ आएको बाटो’मार्फत ।

‘गाउँ आएको बाटो’ सडकले बाउछोराको सम्बन्धमा पार्ने प्रभावको कथा भएको नवीन बताउँछन् । ‘सडकले गाउँमा सपनाहरू लिएर आउँछन् । सडकले सपना मात्रै होइन त्यसँगै दुःख पनि लिएर आउँछन् भन्ने हामीले देखाएका छौँ,’ उनी भन्छन्, ‘त्योसँगै बाउले गर्ने संघर्षको कथा यो सिनेमाले भन्छ । सडकले छोराका सपनाहरू बढाइदिने र बाउको पनि सपना हुन्छ । त्यो सपना प्राप्त गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्छ ।’

यो पटक धेरै एक्सपेरिमेन्ट नगरी सिनेमा बनाएको तर लेयर लेयरमा कथा भनेकाले सबै दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको उनी बताउँछन् । दुई दर्जन इन्टरनेसनल सिनेमा महोत्सवमा छनोट भएको र त्यहाँ रुचाइएकाले नेपालमा पनि धेरै दर्शकले सिनेमा मन पराउने उनको तर्क छ ।

सिनेमा उद्योगको विस्तार र विस्तारका लागि सबै खालका सिनेमा चल्नुपर्ने उनको भनाइ छ । सबै सिनेमा चलेर घरेलु बजार नै विस्तार भएपछि देश बाहिर पनि नेपाली सिनेमा उद्योगको बजार विस्तार हुने उनको तर्क छ ।

‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सातवर्षे छोरा बिन्द्रे (प्रसान राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा पेस गर्नेछ ।

पछ्याउँदै आएको परम्परागत जीवनशैलीमाथि के गर्ने भनेर मूल पात्रले लिने निर्णयमा सिनेमाको कथा केन्द्रित रहेको बताइएको छ । बाबुआमा र उनीहरूको छोरा विकाससँगै बदलिएको परिस्थितिमा नयाँ संसारमा कसरी घुलमिल हुन्छन् र सपना फेरिन्छन् भन्ने कथा सिनेमाले भन्ने निर्माण पक्षले बताउँदै आएको छ ।

‘गाउँ आएको बाटो’ आउँदो जेठ २५ गते रिलिज हुँदै छ । सिनेमामा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमूख भूमिकामा छन् । ‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो ।

टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशकसुब्बा हुन् ।

यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।