‘बाटो : रोड टु डेथ’लाई प्रिमियर शोमा मिश्रित प्रतिक्रिया

‘बाटो : रोड टु डेथ’लाई प्रिमियर शोमा मिश्रित प्रतिक्रिया

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बाटो : रोड टु डेथ’को बुधवार प्रिमियर शोको आयोजना गरिएको छ । ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा सिनेमाको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको उपस्थिति थियो ।

सिनेमाको प्रिमियर इभेन्टलाई राठी ग्रुपले प्रायोजन गरेको थियो । नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यो सिनेमाका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा सिनेमा हेर्ने जति सबैले प्रशंसा गरेकाले दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाउनेछु भन्ने आशा आफूले लिएको बताए ।

सिनेमाका अभिनेता सुलक्षण भारतीले यो सिनेमामा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेकाले यस प्रकारको सिनेमा नेपालमा यसअघि नबनेको बताए । अर्का अभिनेता उत्पल झाले लामो समयको प्रतीक्षापछि सिनेमा रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे । अभिनेत्री रक्षा थापाले यो सिनेमामा आफ्नो भावना जोडिएको बताइन् । अभिनेत्री मिथिला शर्माले सिनेमामा आफूलाई अभिनयको लागि अवसर दिएकोमा निर्माता तथा निर्देशकलाई धन्यवाद दिइन् ।

अहिलेसम्म नेपालमा बनेका सिनेमाहरू मध्ये बिलकुल फरक बनेको र दर्शकलाई एउटा बाटोमा र्डोयाउन सफल रहने प्रतिक्रिया प्रिमियर शोपछि सहभागी पाहुनाले दिएका हुन् । प्राविधिक रूपमा अत्यन्त गहन तरिकाले काम भएको र हरेक कलाकारको काम उत्कृष्ट रहेको प्रिमियरमा सहभागीले बताए ।

काठमाडौं फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता चन्दन झा हुन् । दक्षिण भारतीय सिनेमाका छायांकार शरण ऋषिले छायांकन गरेको सिनेमामा लाइन प्रोड्युसरमा शंकर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा, कार्यकारी निर्मातामा रणधीर कुमार झा, अश्विनी घिमिरे, सदीक्षा महर्जन, नवीन अवाल, आकाङ्क्षा बस्नेत र विशाखा विक्रम थापा तथा सह निर्मातामा विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत र स्मृति झा छन् ।

सिनेमामा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ । सिनेमालाई डिसिएनले वितरण गर्दैछ ।