सरकारले ‘पुजार सार्की’ जस्ता सिनेमालाई कर छुट दिनुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई

सरकारले ‘पुजार सार्की’ जस्ता सिनेमालाई कर छुट दिनुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रदर्शनरत सिनेमा ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिनेमा हेरेपछि प्रतिक्रिया दिँदै भट्टराईले यसको लडाइँ लामो भएको बताए ।

‘म त यसैका निम्ति जिन्दगीभर लागिराखेको मान्छे हुँ । ‘पुजार सार्की’ हेर्दा हेर्दै म भावुक भएँ, कतिपय प्रसङ्ग आफैसँग पनि मिलेको पाएँ’, उनले भने ‘योे लामो लडाइँ हो । जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदै छ, यसमा धार्मिक शास्त्रको पनि आड रहेको छ । धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन गाह्रो छ । यो मुद्दालाई सिनेमाले गहिरो गरी उठाएको छ ।’

भट्टराईले जातीय विभेद अन्त्यको लागि राज्यले गर्ने पहलमा धर्मगुरुहरूले नै साथ दिनु पर्ने बताए । भट्टराईले यो सिनेमाले सन्देश त दिएको छ नै साथमा दर्शकलाई मनोरञ्जन पनि दिएको बताए । राज्यले यस प्रकारका सिनेमालाई कर छुट दिनुपर्ने विचार पूर्व प्रधानमन्त्री भट्टराईको थियो ।

सिनेमाका लेखक बिकास सुवेदीले पूर्ण रूपमा कम्युनिस्ट आन्दोलनमा रहेकाहरूकै कथा नभएता पनि कहीँ न कहीँ उनीहरूबाट नै प्रभावित पात्रहरू यो सिनेमामा आधारित रहेको बताए ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिनेमामा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परिक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।

राष्ट्रिय अवार्ड विजेता निर्देशक दिनेश राउतले निर्देशित सिनेमाको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले प्रकाशमा सहकार्य गरेका थिए । सिनेमालाई संगीतकार सुवास भुषालले निर्माण गरेका हुन् । सिनेमाका गीतमा संगीत समेत उनी आफैले भरेका छन् ।

राजेश श्रेष्ठको डिओपी रहेको सिनेमामा भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन रहेको छ ।