नवीन र दयाहाङ नेपाल-अमेरिका सिनेमा महोत्सवमा सहभागि हुँदै

नवीन र दयाहाङ नेपाल-अमेरिका सिनेमा महोत्सवमा सहभागि हुँदै

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा सफलताका साथ प्रदर्शनरत सिनेमा गाउँ आएको बाटोका निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राईले नेपाल-अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा सहभागिता जनाउने भएका छन् । महोत्सवमा उनीहरुको सिनेमा ‘गाउँ आएको बाटो’को स्क्रिनिङ ओपनिङ समारोहमा हुँदैछ ।

आगामी जुन २० देखि सुरु हुने महोत्सवको ओपनिङ सिनेमाको रुपमा यो सोसल ड्रामा सिनेमा तय छ । अमेरिकाब्यापी रिलिजको पूर्वसन्ध्यामा हुने रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागि हुन लागेका हुन् ।

आमोद राईले निर्माण गरेको सिनेमामा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतार चढावको कथा भन्छ ।

यो महोत्सव समापन सिनेमाको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ । भेनिस सिनेमा माहोत्सवमा विश्व प्रिमियर भैसकेको सिनेमालाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।

मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ सिनेमा स्क्रिनिङ हुनेछन् ।

महोत्सव उदघाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल-अमेरिका सिनेमा सोसाइटीद्वारा जारी वक्तव्यमा उल्लेख छ । ४ दिनसम्म चल्ने महोत्सवका सिनेमा भने एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुने उल्लेख छ ।

सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको महोत्सव अवधिभर सिनेमा र संस्कृति, महिला ‘प्यानल’मा छलफल, सिनेमा निर्माणबारे मास्टरक्लास पनि संचालन हुने जनाइएको छ । मेरिल्याण्ड राज्यको ‘पाक्र्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।