प्रिमियरमा ‘आचार्य’लाई तारिफ, प्रेरणाको स्रोत भएको प्रतिक्रिया

प्रिमियरमा ‘आचार्य’लाई तारिफ, प्रेरणाको स्रोत भएको प्रतिक्रिया

२०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो सिनेमाले देखाएको छ ।

द सिनेमा टाइम्स
1.3k
Shares

सिनेमा टाइम्स,काठमाडौं । गायक तथा संगीतकार भक्तराज आचार्यको जीवन संघर्ष र उपलब्धीमा बनेको सिनेमा आचार्यको प्रिमियर गरिएको छ । बुधबार काठमाडौंमा यो सिनेमाको प्रिमियर गरिएको हो ।

प्रिमियरमा नेपाली संगीत उद्योगका अधिकांश हस्तिहरूको उपस्थिति थियो । प्रिमियरमा उपस्थित हुनेहरूले सिनेमा हेरेपछि तारिफ गरेका थिए । नेपाली सांगीतिक क्षेत्रमा आउन चाहनेहरूका लागि सिनेमाले प्रेरणा दिने बताए ।

लामो समयको साधना र संघर्षपछि मात्रै गायनमा सफलता प्राप्त गरेका भक्तराजको जीवन कहानीले यो क्षेत्रमा आउन चाहनेहरूका लागि प्रेरणा प्रदान गर्ने प्रिमियर हेरेपछि प्रतिक्रिया प्राप्त भएको छ ।

थोरै मात्रै सिनेम्याटिक लिवर्टी लिएर बनेको बायोपिक सिनेमाले सपना पूरा गर्न संघर्ष गरेको कथाले दर्शकलाई प्ररणासँगै मनोरञ्जन पनि प्रदान गर्ने प्रतिक्रिया आएको छ । १५ वर्ष अगाडि निर्माण भएर १३ वर्ष अगाडि रिलिज भएको सिनेमाको अभिनयसँगै साउन्ड, स्कोर र सिनेमेटोग्राफीको अधिकांशले तारिफ गरेका छन् ।

सिनेमा हेर्नेले सिनेमा राम्रो अथवा नराम्रो भन्दा पनि महसुस गर्ने खालको भएको बताएका छन् । प्रिमियर अगाडिको कार्यक्रमलाई संबोधन गर्दै सत्यराज आचार्यले पनि यो सिनेमा महसुस गर्नका लागि अनुरोध गरेका थिए ।

बुधबार प्रिमियर गरिएको सिनेमाको १३ वर्षपछि शुक्रबारबाट पुनः प्रदर्शनमा आउन लागेको छ ।

१३ वर्ष अगाडि रिलिज भएको सिनेमा नयाँ पुस्तालाई पुनः देखाउने उद्देश्यले प्रदर्शन गर्न लागिएको हो । प्रशान्त रसाइलीले निर्देशन गरेको सिनेमा भक्तराजका छोरा सत्यराज आचार्य मुख्य भूमिकामा छन् ।

सत्यराजसँगै सुनील पोखरेल, दयाहाङ राई, अरुणा कार्की, विपीन कार्की, सौगात मल्ललगायत कलाकाको अभिनय छ । सिनेमाले १३ वर्ष अगाडि राम्रो समीक्षा पाएको थियो ।

पहिलो पटक सिनेमा रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको सत्यराजले बताएका छन् । यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाइ छ ।

२०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो सिनेमाले देखाएको छ ।

सिनेमाको ट्रिमिङ्ग तथा पुन सम्पादनको काम देवजंग थापाले गरेका छन् । सिनेमामा भजन शिरोमणी तथा बरिष्ठ गायक भक्तराज आचार्यको निधन पश्चातका फुटेजहरु पनि समावेश गरिएका छन् । त्यसैले अहिले यो सिनेमा पूर्णरुपमा बायोपिक भएको छ । सिनेमाका निर्माता रोशन राई हुन् । उनले यो सिनेमामा साढे २ करोड रुपैयाँ लगानी गरेका थिए ।