‘मैथिली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ जनकपुरमा सम्पन्न

‘मैथिली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ जनकपुरमा सम्पन्न

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पहिलो पटक जनकपुरधाममा दुई दिने ‘मैथिली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ आयोजना गरिएको छ । मैथिली भाषामा निर्माण गरिएका सिनेमाहरुलाई लक्षित गर्दै असार ११ र १२ गते जनकपुरस्थित गिरिजा हलमा चलेको महोत्सवलाई जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा आयोजना गरेको थियो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा टेवा पु¥याउने बताए । ‘मैथिली भाषामा सिनेमा निर्माण हुनु गौरवको विषय हो । नवीनतम सोच भएका युवाको उपस्थिती बढेसँगै आउँदो समयमा अन्य भाषा झैँ मैथिली सिनेमाले फड्को मार्नेमा विश्वस्त छु । यो महोत्सवले मैथिली सिनेमा बनाउन प्रेरित गर्नुका साथै मन्थन गर्ने अवसर दिएको छ’, मुख्यमन्त्री सिंहले भने ।

यो महोत्सव प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड (काठमाडौं), चलचित्र विकास बोर्ड (काठमाडौं) जोडिएको कार्यक्रममा सहभागी अभिनेता तथा निर्देशक नीर शाहले विविधताबीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउन अन्तर संस्कृतिका विषय सिनेमामा आउनु पर्ने बताए ।

महोत्सवका निर्देशक रमेश रञ्जन झाले महोत्सवका कारण मिथिला क्षेत्रसँगै मैथिली भाषामा काम गरिरहेका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशक एउटा प्लेटफर्मको निर्माण भएको बताए । महोत्सवमा वृत्तचित्रतर्फ ‘गुमकी’ र ‘विदापत’ तथा लघु सिनेमातर्फ ‘अफवाह’ र ‘रक्त तिलक’, फिचर सिनेमातर्फ ‘ललका पागु’, ‘लोटस ब्लूम्सु’ ‘समानान्तर’ प्रदर्शन गरियो ।

यो महोत्सवमा ‘मैथिली सिनेमाक निर्माण आ व्यवसाय’, ‘निर्देशक सँ विमर्श’, ‘समकालीन परिदृश्य मे मैथिली सिनेमा’, ‘मैथिली सिनेमाक विविध स्वरूप आ सम्भावना’ शीर्षकमा अन्तरक्रिया गरिएको निर्देशक र महोत्सवका संयोजक पुर्णेन्दु के झाले जानकारी दिए ।

‘पहिलो संस्करण भएकाले हामीले प्रतिस्पर्धा राखेनौं । हामीले अहिले मैथिली भाषामा काम गरिरहेकालाई भेला गर्ने काम गर्यौं । आउँदो दिनमा यसको प्रभाव देखिने नै छ । महोत्सवमा भएका अन्तरक्रियाले सिनेमा निर्माण गर्न प्रेरित गरेको छ । मिथिला संस्कृति र भाषालाई संरक्षण गर्न सिनेमाले खेल्ने भूमिकाको विषयमा चर्चा भएको छ’, निर्देशक झाले भने ।