‘घरज्वाइँ’को कथावस्तु ‘जारी’को भन्दा ठ्याक्कै उल्टो छ : निर्देशक अनिल बुढा मगर

‘घरज्वाइँ’को कथावस्तु ‘जारी’को भन्दा ठ्याक्कै उल्टो छ : निर्देशक अनिल बुढा मगर

निर्देशक बुढा मगरले 'जारी' र ‘घरज्वाइँ’को बिषयवस्तु नै फरक भएकाले त्यसरी नहेरीदिन पत्रकारलाई आग्रह गरेका थिए ।

द सिनेमा टाइम्स
1.5k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनिल बुढा मगरको डेव्यु निर्देशकिय सिनेमा ‘घरज्वाइँ’ प्रदर्शनको तयारीमा रहेको छ । अहिले सिनेमाको व्यापक प्रचार प्रसारमा निर्माण टिम व्यस्त छ । सिनेमा असार २८ गतेबाट नेपालसहित विदेशमा पनि रिलिज हुँदैछ ।

सिनेमाका सार्वजनिक प्रचार सामाग्री पोस्टर, टिजर, गीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप बनाइरहेका छन् । सिनेमाको निर्माण टिम पनि सामाजिक सञ्जालदेखि नेपालका विभिन्न शहरमा सञ्चालनमा रहेका यात्रु वाहक सवारी साधनमा पोस्टर राखेर धेरै भन्दा धेरै दर्शकसम्म सिनेमाको विषयमा जानकारी गराउन लागि परेको छ ।

यसैबीच बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको थियो । सिनेमाको ट्रेलर हेरिसके पश्चात निर्माण टिमलाई पत्रकारे सिनेमाको कथावस्तु गतवर्ष रिलिज भएको सुपरहिट सिनेमा ‘जारी’सँग मिल्दोजुल्दो भएको भन्दै प्रश्न सोधेका थिए । जवाफमा निर्देशक बुढा मगरले त्यो सिनेमा र हाम्रो सिनेमाको कथा अनि बिषयवस्तु नै फरक भएकाले त्यसरी नहेरीदिन पत्रकारलाई आग्रह गरेका थिए ।

‘जारी लिम्बु संस्कृतिमा आधारित सिनेमा हो । अनि ‘घरज्वाइँ’ हामी मगर समुदायको संस्कार तथा संस्कृतिमा आधारित रहेको हुँदा हाम्रो सिनेमा र ‘जारी’को कथावस्तु ठ्याक्कै उल्टो रहेको छ,’ उनले भने, ‘तपाईंहरुले हाम्रो सिनेमाका पात्रले पनि जारीमा जस्तै आफुलाई मन परेको महिला पात्रलाई तानेर विवाह गरेको देखेर भन्नु भएको होला । हामी आदिवासी समुदायका हरेक जातिमा यो प्रचलन समान भएकाले त्यस्तो देखिएको हो ।’

निर्देशक अनिलले सिनेमाको व्याग्राराउण्ड म्युजिक नै सिनेमामा समावेश यानिमाया बोलको गीतको रिदममा रहेको तयार पारिएको बताए । ‘यतिमात्रै नभई सिनेमाको दृश्यभाषा पनि सोही गीतको रिदममा रहेर तयार पारेका छौं । सिनेमाका क्यारेक्टरको हिँडाइ र बोलाईलाई समेत सिनेमाको गीतको थिममा नै राखेर प्रस्तुत गरेकाले पनि एउटा फरक स्वादको सिनेमा ‘घरज्वाइँ’ बनेको विश्वास हामीलाई छ,’ निर्देशक बुढामगरले भने ।

यस्तै, सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा भल्गर शब्दको प्रयोग अत्याधिक भएको गुनासो समेत पत्रकारले गरेका थिए । जसको जवाफमा निर्देशक अनिलले भनेका छन्, ‘हामीले जुन ठाउँ र समुदायको कथा उठाएका छौं, त्यहाँ यस्ता शब्दहरु बोलीचालीकै भाषा भएकाले पनि हामीले राखेका हौं । हाम्रो कथाको ओर्जिनालिटी नमरोस् भन्नका लागि पनि सिनेमाको प्रचार सामाग्रीमा पनि भल्गर सुनिएपनि ती शब्द प्रयोग गरेका हौं ।’

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।