दयाहाङ भन्छन्– ‘घरज्वाइँ’ ज्वाइँको क्षमता परीक्षण गर्ने मगर समुदायको कथा हो

दयाहाङ भन्छन्– ‘घरज्वाइँ’ ज्वाइँको क्षमता परीक्षण गर्ने मगर समुदायको कथा हो

अभिनेता दयाहाङ राईले सिनेमा ‘घरज्वाइँ’को कथा आम नेपाली सिनेमाको भन्दा फरक रहेको बताएका छन् ।

द सिनेमा टाइम्स
385
Shares

द सिनेमा टाइम्स,काठमाडौं । अभिनेता दयाहाङ राईले सिनेमा ‘घरज्वाइँ’को कथा आम नेपाली सिनेमाको भन्दा फरक रहेको बताएका छन् । नेपाली समाजमा छोरी अथवा बुहारीमा जुन खालको घर गरेर खाने क्षमता अपेक्षा गरिन्छ मगर समुदायमा त्यही क्षमता ज्वाइँमा खोज्ने चलन रहेको उनको भनाइ छ ।यसकै सेरोफेरोमा सिनेमा ‘घरज्वाइँ’को कथा घुमेको उनले बताए ।

“हामी साधारणतया बिहे गरेर ल्याएकी बुहारी अथवा बिहे गरिदिन लागेकी छोरीले कसरी समाज, परिवार, सासुससुरालाई रिझाउन सक्छे होलो भनेर सोच्छौँ,” दयाहाङ भन्छन्, “अथवा घर गरेर खानालाई बुहारीमा अथवा छोरीमा यस्तो क्षमता चाहिन्छ अथवा हुनुपर्छ भनेर सोच्छौँ त्यो क्षमता मगर समुदायमा ज्वाइँ अथाव भान्जामा खोज्ने चलन रहेछ । यही कथामा सिनेमा बनेको छ ।”

सिनेमाको कथाले आफ्नो दिमागमा रहेको नेपाली समाजमा छोरी बुहारीको भूमिकामा विषयमा रहेको सोच नै परिवर्तन गरिदिएको दयाहाङको भनाइ छ । यसअर्थमा सुरुमा भने केही असहज भएको उनले बताए । तर समुदाय र ठाउँ अनुसारको कल्चर हुने र त्यही विविधता नै नेपाली समाजको सुन्दर पक्ष भएको उनको भनाइ छ ।

“यो खालको कल्चर मैले नजिकबाट नियाल्ने मौका पाएको थिइनँ । यो सिनेमामार्फत यसलाई जनिकबाट अध्ययन गर्ने र सिनेमाको पात्रको जीवनमा मात्रै भए पनि जिउने मौका मिल्यो,” उनले भने, “मेरो दिमागमा रहेको केही परम्परागत सोच पनि परिवर्तन भयो बुहारी र ज्वाइँलाई लिएर ।”

सिनेमाको ट्रेलरमा काठमाडौंमा बसेर हेर्दा केही आपत्तिजनक जस्तो लाग्ने शब्द प्रयोग भए पनि सिनेमा खिचिएको भूगोलका लागि भने त्यो सामान्य शब्द रहेको दयाहाङले प्रष्ट पारे ।

निर्देशक अनिल बुढा मगरले सिनेमामा माटोको कथा रहेको बताए । कुनै पनि सिनेमा, साहित्य वा संगीतमा माटोको प्रतिबिम्ब झल्किनु पर्ने र त्यहीअनुसार बुझ्नुपर्नेमा उनको जोड छ ।

जुन ठाउँको कथा हो, त्यही परिवेश, भाषा र कलर नै सिनेमामा आउने र त्यही नै सवल पक्ष भएको उनको तर्क छ । त्यसैले ‘घरज्वाइँ’को संबाद पनि स्थानीयले बोल्ने भाषाबाट लिइएको उनको भनाइ छ ।

पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफँैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो ।

एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।