‘घरज्वाइँ’ ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया, दयाहाङको मगर अवतारको प्रतिक्षामा दर्शक

‘घरज्वाइँ’ ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया, दयाहाङको मगर अवतारको प्रतिक्षामा दर्शक

द सिनेमा टाइम्स
1.2k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’ अहिले चर्चामा छ । सिनेमाको सार्वजनिक प्रचार सामाग्री पोस्टर, टिजर, गीत र ट्रेलरका कारण सिनेमाले दर्शकमाझ राम्रो हाइप निर्माण गरिरहेको छ ।

सिनेमाको गत बिहीबार सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जितिरहेको छ । सिनेमाको ट्रेलरलाई मिलेको प्रतिक्रिया हेर्दा पनि दर्शक उत्साहित रहेको देख्न सकिन्छ । हालसम्म सिनेमाको ट्रेलरलाई करिब ८ लाख ४५ हजार बढि भ्युज, ३५ हजार बढि लाइक्स र २ हजार बढि कमेन्ट पाएको छ । कमेन्टमा अधिकांश दर्शकले दयाहाङ राई र मिरुना मगरको जोडीलाई रुचाएका छन् ।

ट्रेलरको कमेन्ट बक्समा प्रवीन गुरुङले लेखेका छन्, ‘कबड्डीमा हिमालको थकाली, जारीमा पूर्वको लिम्बु, अब पश्चिमको मगर समुदायको कथामा शुभकामना दया मिरुनको जोडी ।’ अर्का कमेन्टर सनिम वान्तवा लेख्छन्, ‘सिनेमा समाजको एना हो । रुकुमको तकसेराको मगर समुदायको रितिरिवाज, परम्परा, संस्कृति र विश्वास पद्धतिलाई त्यहाँका मगरले लगाउने भेषभुषा, बोलिचाली, खानपानलाई बहुत सुन्दर ढङ्गले देखाएको घरज्वाइँ हेर्नु आतुर छु ।’

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।