बिमलेशको निर्देशनमा वेब सिरिज ‘घर बट इन अमेरिका’को छायांकन सुरु

बिमलेशको निर्देशनमा वेब सिरिज ‘घर बट इन अमेरिका’को छायांकन सुरु

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा कमव्याक गर्ने भएकी छन् । उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन् । यो सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ । सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो पटक सिनेमा ‘पिपल’मा अभिनय गरेकी थिइन् ।

यो सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन् । बिमलेश आफैले मुख्ख भुमिकामा अभिनय पनि गरेका छन् । एक समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा वर्चश्व जमाएका अधिकारीले सयौँ म्युजिक भिडियो र केही सिनेमामा अभिनय गरेका छन् ।

सन् २०१५ देखि अमेरिकाको मेरिल्यान्ड बस्दै आएका उनले ‘ब्रेकफेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । उनले पछिल्लो पटक सन् २०१६ मा ‘जंग बहादुरको कोट’मा अभिनय गरेका थिए भने म्युजिक भिडियोमा अभिनय र निर्देशन भने गरिरहेका थिए ।

सिचुएशनल कमेडी–ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए । विवेक चम्लागाईले लेखेको यो सिरिजमा गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमा–बुवाको वरपरको कथा घुमेको छ ।

सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजमा पछिल्लो समय अमेरिकामा नै रहेका कलाकार राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा मुख्ख भुमिका रहेको छ । यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन् ।

सिरिजमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइलीको सहायक निर्देशन, पशुपति बस्यालको छायांकन र अप्सरा कटुवालको मेकअप रहेको छ ।