‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक

‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स,काठमाडौं श्रावण १८ गते रिलिज हुने नेपाली सिनेमा ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ । सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

‘मोदीबेनी’को एक महत्त्वपूर्ण अंशको रूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अङ्कुरण देखिको यात्रालाई चर्चा गरेको छ । एसडी योगी र विज्ञानी पराजुलीको आवाजमा रहेको यो गीतको संगीत एसडीले नै गरेका छन् भने राम अविरल बिष्टले शब्द रचना गरेका छन् । सङ्गीत निर्माता रिकेश गुरुङ हुन् ।

अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठ गीत सार्वजनिक कार्यक्रमको केन्द्र बने । सिवाकोटी र श्रेष्ठले किरण थापाले कोरियोग्राफी गरेको यस गीतमा सुन्दर अभिनय गरेका छन् । गीतमा उत्सव दाहालले छायांकन र भरत रेग्मीले सम्पादन गरेका छन् ।

डेव्यु अभिनेता श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामा नै सशक्त टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताए । ‘यो मेरो पहिलो प्रयास हो । मलाई यहाँहरूको साथको जरुरत छ । पछिल्लो समय नेपाली सिनेमामा धेरै नयाँ अनुहारहरूको प्रवेश भइरहेको छ, त्यो मध्ये एक बनेको छु ।

‘कला सहितको अभिनेता बन्ने सपना पछ्याउँदै मोदीबेनी मार्फत डेव्यु गरेको छु’, अमरले भने, ‘म आमदर्शकको चाहना अनुसारको प्याकेज अभिनेता बन्न चाहन्छु । मेरो पहिलो सिनेमामा नै किरण थापा जस्तो कोरियोग्राफर पाउनु अहोभाग्य हो । को-एक्टरको रूपमा वर्षा सिवाकोटी जस्तो अनुभवी नायिकासँग अभिनय गर्न पाउँदा धेरै कुरा सिक्न पाएको छु ।

‘मलाई विश्वास गरेरआफ्नो पनि पहिलो सिनेमा हुँदा हुँदै पनि मलाई डेब्यु गराउने निर्देशक शंकर कोइराला, पहिलो सिनेमा बनाइरहेको समयमा पनि मलाई विश्वास गरेर लगानी गर्ने निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठलाई विशेष धन्यवाद दिन चाहन्छु ।’ अभिनेत्री वर्षा सिवाकोटीले सिनेमा  सुन्दर बनेको बताइन् । आफ्नो जोडीको रूपमा यस सिनेमामा देखिने कलाकार अमरको कामको उनले तारिफ गरिन् ।