लन्डनमा ‘नेपाली सिनेमा महोत्सव २०२४’ हुने

लन्डनमा ‘नेपाली सिनेमा महोत्सव २०२४’ हुने

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बेलायतको लन्डनमा ‘नेपाली सिनेमा महोत्सव २०२४’ हुने भएको छ । जुलाई ७ देखि २० सम्म हुने महोत्सवमा नेपालबाट जुलाई १८ मा कलाकारसहितको टोली प्रस्थान गर्ने द दिनेश डिसी प्रोडक्सनले जानकारी दिएको छ ।

मंगलबार मध्य बानेश्वरस्थित एक रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गर्दै यो महोत्सवको नेपाल तर्फका व्यावस्थापक दिनेश डिसीले चौध जना कलाकारको टोली सहभागी हुने जानकारी दिए ।

‘यो महोत्सवको दोस्रो संस्करणमा नेपालबाट सहभागी हुने कलाकारसँगै महोत्सव विषयमा जानकारी दिने उदेश्यले पत्रकार सम्मेलनको आयोजना गरेका हौँ । विदेशी भूमिमा नेपाली कला, संस्कृति र सिनेमाको बजारलाई बढाउन टेवा पुर्याउने उदेश्यले महोत्सवको आयोजना भइरहेको छ’, डिसीले भने ।

प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको सिनेमा ‘अन्तिम संस्कार’ मार्फत सुरू हुने महोत्सवमा ‘हल्कारा’,‘टुल्की’ र ‘प्रसाद २’ लगायतका सिनेमा प्रदर्शन गरिनेछ भने समापन समारोहमा ‘सरिता’ सिनेमाको प्रदर्शन हुनेछ । महोत्सवले नेपालमा बनिरहेको सिनेमाको नवीनतम शैलीलाई प्रवासी नेपाली माँझ प्रस्तुत गर्ने विश्वास आयोजकको छ ।

महोत्सवमा नेपालबाट संगीतकार शम्भुजित बास्कोटा, अभिनेता भुवन केसी, दिलिप रायमाझी, प्रदीप खड्का, पुजा शर्मा, बेनिशा हमाल, कविता नेपाली, नरेन खड्का, एलिश कार्की, अनिता चलाउने, दिनेश डिसी तथा आफ्नो पेशागत कामको लागि हाल बेलायतमै रहेका कलाकर्मीहरु प्रदीप शाही, दिया पुन, शर्मिला बर्देवा, रुपक डोटेल लगायत सहभागी हुनेछन् ।

अभिनेता प्रदीप खड्काले नेपाली सिनेमालाई लक्षित गर्दै प्रवासमा महोत्सव हुनु सुखद रहेको बताए । महोत्सवमा नेपाली गीतसंगीतमा विशिष्ट योगदान पुर्याए वापत संगीतकार शम्भुजित बाँस्कोटालाई ‘दीर्घसाधना सम्मान’ मार्फत सम्मानित गरिनेछ । संगीतकार बाँस्कोटाले आफुलाई यो सम्मान योग्य ठानेको भन्दै आयोजकलाई धन्यवाद दिए ।