दयाहाङ र मिरुना अभिनित ‘घरज्वाइँ’को अग्रीम टिकट बुकिङ खुल्ला

दयाहाङ र मिरुना अभिनित ‘घरज्वाइँ’को अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
1.4k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘घरज्वाइँ’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । मंगलबार राजधानीमा आयोजित प्रिमियर शोमा राम्रो तारिफ पाएको सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शोज पाएको छ ।

यो सिनेमालाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका ४० स्क्रिनमा ५७ शो पाएको छ । यता, देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाज्ले १३ शो, एफक्युबले ६ शो, बिएसआर मुभिजले ५ शोज दिएका छन् । बिग मुभिज, एफक्युब, बिएसआर, विश्वज्योति सिनेमाज्, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, कीर्तिपुर सिनेमाज् जस्ता मल्टीप्लेक्सहरुमा पनि सिनेमाले राम्रो शो पाएको छ । काठमाडौंबाहिरका हलमा पनि सिनेमालाई प्राप्त शोज संख्या राम्रो देखिन्छ ।

शुक्रबारसम्ममा करिब ३०० हाराहारी शो सिनेमाले पाउने विश्वास निर्माण टिमलाई छ । सिनेमाले प्रिमियरका पाएको प्रतिक्रिया र प्रचार सामाग्रीबाट मिलेको हाइपले गर्दा सिनेमाले बक्सअफिसमा राम्रो सुरुवात गर्ने विश्वास निर्माता र वितरकको छ । शुक्रबारबाट मिल्ने दर्शकको साथ र वर्डअफ माउथले शो र व्यापार दुवैमा बढोत्तरी मिल्ने आशा निर्माण कम्पनिको छ ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । सिनेमा असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।