‘गुन्यो चोलो उर्फ गुलाबी’मा नाजिरको ट्रान्सवुमन लुक्स, कार्तिक ९ मा रिलिज

‘गुन्यो चोलो उर्फ गुलाबी’मा नाजिरको ट्रान्सवुमन लुक्स, कार्तिक ९ मा रिलिज

नाकमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको 'ट्रान्सवुमन लुक्स' आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ ।

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता नाजिर हुसेनको मुख्य भुमिका रहेको सिनेमा ‘गुन्यो चोलो : कमिङ अफ अ्याज अफ अ गर्ल’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा नाजिरलाई ‘गुलाबी’ पात्रको रुपमा चिनाउँदै सिनेमा कार्तिक ९ बाट रिलिज हुने जानकारी दिइएको छ ।

नाजिरको लुक्स र पोस्टरले नै सिनेमाको कथावस्तु बोल्छ । अभिनेता नाजिरले यो सिनेमामा निकै मेहेनत गरेका छन भन्ने छनक पोस्टरबाटै मिलेको छ । नाजिरले ‘गुन्यो चोलो उर्फ गुलाबी’कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए ।

पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा देखिएका छन । उनले एउटा हातमा नक्कली कपाल बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन । उनको शरीरमा चोटको निशान छ । उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ । नाकमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ ।

सिनेमालाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन । समुन्द्रले सिनेमाको कथालाई न्याय दिन निकै मेहेनत गरेकी छिन । निर्देशक भट्टले सिनेमाको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु निलहिरा समाज र मितीनी नेपालसंग पनि परामर्श गरेकी थिइन । सिनेमालाई लिएर समुन्द्र निकै आशावादी छिन । ‘गुन्यो चोलो उर्फ गुलाबी’ले आफ्नो निर्देशनको यात्रामा थप उचाई दिनेमा भट्ट विश्वस्त छिन ।

अमेरिकी कम्पनी भिजन ईन्टरटेन्मेन्ट र दि स्काई ओसन ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमाले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ । सिनेमामा समुन्द्र र नाजिरको पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमामा नाजिरका अलावा संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा छन् ।

सिनेमाको सम्पुर्ण पोस्ट प्रोडक्सनको काम अमेरिकामा गरिएको हो । सिनेमाको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड म्युजिकसम्को काम हलिउड शैलीमा तयार गरिएको छ । सिनेमामा हलिउड कलाकार लिजा जेरार्डले स्वर दिएकी छन भने ब्याकग्राउन्ड म्युजिकको काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन ।

नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो सिनेमा नेपाली सिनेमा प्रोड्क्सन हाउस र हलिउड सिनेमा प्रोड्क्सन हाउसको संयुक्त लगानीमा निर्माण भएको हो । सिनेमामा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ । सिनेमाको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन । अनुपम श्रेष्ठ सिनेमाका सहयोगी निर्माता हुन ।

आलोक शुक्लाले खिचेको सिनेमामा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाइनर पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन ।