‘घरज्वाइँ’ले दुई दिनमा कमायो १ करोड ५१ लाख ग्रस

‘घरज्वाइँ’ले दुई दिनमा कमायो १ करोड ५१ लाख ग्रस

द सिनेमा टाइम्स
1.2k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘घरज्वाइँ’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको छ । निर्माता जनक घर्ती मगरले आइतबार एक पोस्टर सार्वजनिक गर्दै सिनेमाले दुई दिनमा एक करोड ५१ लख ग्रस कलेक्सन गरेको जानकारी दिए ।

सिनेमाले शुक्रबार र शनिबार इनिसियल व्यापार राम्रो गर्नुका साथै दर्शकबाट वर्डअफ माउथ समेत राम्रो पाइरहेको छ । आइतबार पनि सिनेमाले देशैभर राम्रो व्यापार गरिरहेको वितरक रोहित कट्टेले बताए । दर्शकबाट राम्रो प्रतिक्रिया पाएसँगै निर्माता जनक घर्ती मगर पनि खुशी देखिएका छन् । आफ्नो पहिलो सोलो लगानी रहेको सिनेमाले दर्शकबाट राम्रो साथ पाएपछि आगामी दिनमा अझै राम्रो सिनेमा निर्माण गर्ने जोश मिलेको उनको भनाई छ ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।