गौरव र नम्रताको ‘नम्बरी सुन’ हेर्ने १२ जनाले सुन उपहार पाउने

गौरव र नम्रताको ‘नम्बरी सुन’ हेर्ने १२ जनाले सुन उपहार पाउने

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउन २५ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘नम्बरी सुन’ले दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । ललितपुरस्थित झम्सिखेलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सिनेमाका प्रस्तुतकर्ता नारायण खातीले सिनेमा हेर्ने दर्शकमध्ये १२ जनालाई सुन उपहार दिने बताएका हुन् ।

‘खल्ती एप’बाट सिनेमाको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जनालाई सुनको मोतीवाला ‘चन्द्रहार’ प्रदान गरिनेछ । त्यो उपहार ‘लक्की ड्र’ मार्फत् सार्वजनिक गरिने प्रस्तुतकर्ता खातीले बताए । उनी पेशाले सुन व्यवसायी समेत हुन् । गत वर्ष सिनेमाको एक गीत सार्वजनिक कार्यक्रममा खातीले निर्देशक राजु गिरीलाई खुकुरी अंकित नम्बरी सुन समेत उपहार दिएका थिए ।

सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक गिरीले सिनेमाले करिब ७० वर्ष अघि घर-घरमा पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गरिएको बताए । ‘सुनको इतिहाससँगै अहिलेका युवापुस्ताले रुचाउने माया–प्रेम, सेन्टिमेन्ट र कमेडीको फ्लेवर पनि सिनेमामा छ’, उनले भने । अभिनेत्री नम्रता सापकोटाले भने अहिलेसम्म आफूले गरेका सिनेमाभन्दा केही पृथक काम ‘नम्बरी सुन’मा रहेको बताइन् ।

सिनेमामा नम्रताका अलवा गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, राजेन्द्र खड्गी, नारायण खाती, किरण नेपाली, विनोद न्यौपाने, गीता अधिकारी, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरीको अभिनय छ ।

नारायण खातीको कथा, शिवम् अधिकारीको पटकथा एवम् संवाद लेखन रहेको सिनेमा मनोज रिजाल, सविन खाती र सरोज खाती लगानी छ । देव महर्जनको द्धन्द्व निर्देशन रहेको ‘नम्बरी सुन’लाई दिव्य सुवेदीले खिचेका हुन् ।