मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’ कोरियन भाषामा रिलिज हुने

मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’ कोरियन भाषामा रिलिज हुने

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा गत वर्षको फागुन ११ मा प्रदर्शन आएको नेपाली सिनेमा ‘गोर्खा वारियर’ अब कोरियामा रिलिज हुने भएको छ ।

निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भएको यो सिनेमाले नेपालमा औसत व्यापार गरेको थियो । नेपाल रिलिजपछि अन्य विभिन्न भाषामा विदेशमा रिलिज गर्न लागिएको हो । यही क्रममा यो सिनेमा कोरिया राइट्स कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले किनेको हो ।

सिनेमा कोरियन भाषामा रिलिजबारेमा निर्देशक चाम्स भन्छन्, ‘यो सिनेमालाई कोरियाको लागि ७ वर्षको प्रदर्शन तथा वितरण अधिकार दिइएको हो । गोर्खा वारियरलाई पूर्ण रुपमा कोरियन भाषामै स्वराँकन गरेर रिलिजको लागि सो कम्पनीले हिजो पोस्टर सार्वजनिक गरेको छ ।’

सिनेमालाई कोरियाका सिनेमा हलमा रिलिज गरिने पनि निर्देशक चाम्सले बताए । कोरियन भाषाको गोर्खा वारियरलाई कोरियाको सिनेमा हलपछि त्यहाँको टेलिभिजन च्यानलहरुमा पनि रिलिज गरिने छ । नेपाली सिनेमा पहिलो पटक कोरियन भाषामा स्वराँकन गरेर तयार गरिएको निर्देशक चाम्सको दाबी छ ।

यो सिनेमा यसअघि नै नेपाली र अंग्रेजीमा निर्माण भईसकेको छ । यो सिनेमाको हिन्दी बाहेक अन्य भाषाका एक अमेरिकन कम्पनीले किनी सकेका कारण ‘गोर्खा वारियर’ अबको ७ वर्षसम्म युट्युवमा रिलिज नहुने निर्देशक चाम्सले बताए ।

मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले सन् १९४९ मा लडेको लडाइँको कथामा आधारित सिनेमामा रितेश चाम्स, रेवीका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङ लगायतको मुख्य भूमिका रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा ‘गोर्खा वारियर’ निर्माण भएको हो । हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, एलिस कार्कीको संगीत, सुदीप बरालको डीओपी रहेको सिनेमाका निर्माता सुमन राई र सुस्मिता वाइवा हुन् । सिनेमाको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे र सह-निर्मातामा सुरेश राई रहेका छन् ।