‘घरज्वाइँ’लाई पाँचौँ दिन पनि दर्शकको उस्तै साथ

‘घरज्वाइँ’लाई पाँचौँ दिन पनि दर्शकको उस्तै साथ

द सिनेमा टाइम्स
1.3k
Shares

द सिनेमा टाइम्स, काठमाठौं । अनिल बुढा मगर निर्देशित सिनेमा ‘घरज्वाइँ’ पाँचौँ दिनमा पनि उत्साहजनक रूपमा चलिरहेको छ ।

देशभर उच्च शो र उच्च अकुपेन्सीसहित सिनेमा चलिरहेको वितरक रोहित कट्टेलले  बताएका छन् । उनका अनुसार धेरै हल पाँचौँ दिन पनि हाउसफुल भएका छन् । समाजिक सञ्जाल फेसबुकमा उनले हाउफुल शोका तस्बिर सार्वजनिक गर्दै उनले खुसी साझा गरेका छन् ।

‘आज पाँचौँ दिन पनि घरज्वाइँ सिनेमाले देशभरी ब्यापक माया पाएको छ । पाँचौँ दिनको भब्य खुसी बाँड्ने मौका दिनुभयो,’ निर्देशक अनिल बुढा मगर  भन्छन्, ‘तपाईंहरूको मायालाई सीरमा राख्दै हाम्रो घरज्वाइँ टिम निकै आभारी छ ।’

गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमाले दुई दिनमा १ करोड ५१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको थियो । बक्सअफिसमा उत्कृष्ट व्यापार सुरु गरेको सिनेमाले पाँचौँ दिनसम्म पनि यसलाई निरन्तरता दिएको हो ।

निर्माता जनक घर्ती मगरले पहिलो दिनदेखि मंगलबारसम्म दर्शकको उत्तिकै साथ मिलेको बताएका छन् । शुक्रबार र शनिबार इनिसियल व्यापार राम्रो गरेको सिनेमालाई दर्शकबाट वर्डअफ माउथ राम्रो पाएको जनकले बताएका छन् । वर्डअफ माउथकै कारण पाँचौँ दिन पनि हाउफुलका साथ सिनेमा चलेको उनले बताए ।

जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैँले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।