‘घरज्वाइँ’को दर्शक प्रतिक्रिया बुझ्न हल पुगे दयाहाङ र मिरुना, छैठौं दिनमा पनि उच्च चाप

‘घरज्वाइँ’को दर्शक प्रतिक्रिया बुझ्न हल पुगे दयाहाङ र मिरुना, छैठौं दिनमा पनि उच्च चाप

द सिनेमा टाइम्स
665
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘घरज्वाइँ’ आज छैठौं दिनमा प्रवेश गरेको छ । सिनेमा रिलिजको छैठौं दिनमा पनि दर्शकको राम्रो चाप देखिएको छ ।

हलमा दर्शकको चाप देखिएपछि सिनेमाका मुख्य कलाकाकर दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगर दर्शकसँग साक्षात्कार गर्न विभिन्न हलमा पुगेका छन् । दयाहाङ र मिरुनालाई हलमा देखेपछि दर्शकले ताली र हुटिङले स्वागत गर्दै ‘घरज्वाइँ २’को माग समेत गरेका थिए । हलमा दया र मिरुनाको क्रेज दर्शकमाझ गजबको देखिएको थियो ।

दर्शक प्रतिक्रिया लिन हल पुगेका दयाहाङले यो वर्षाको सिजनमा सिनेमाको व्यापार सोचे जस्तो नहोला कि भन्ने डर थियो । तर, वर्षाका बावजुद पनि हलमा दर्शकको उच्च चाप देखिएपछि खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको भन्दै सिनेमा हेरेर साथ दिने सम्पुर्ण दर्शकलाई धन्यवाद ज्ञापन गरे । यता, सिनेमाकी मुख्य अभिनेत्री मिरुना मगरले पनि सिनेमालाई दर्शकको राम्रो साथ मिलेको भन्दै सम्पुर्ण दर्शकलाई धन्यवाद दिइन् ।

सिनेमाका निर्देशक अनिल बुढा मगरले सिनेमालाई के-कस्तो प्रतिक्रिया मिल्ने हो भन्ने डर मनमा रिलिज अगाडी भएपनि रिलिज पश्चात दर्शकबाट मिलेको साथले खुशी मिलेको बताए । निर्माता जनक घर्ती मगरले पनि छैठौं दिनमा पनि दर्शक राम्रो साथ मिलेको र आजसम्म ३ करोड आसपासमा ग्रस कलेक्सन गरेको दाबी गरे । आगामी दिनमा पनि दर्शकबाट यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।