‘घरज्वाइँ’मा रहेका रोधीका दृश्यप्रति गुरुङ समुदायको आपत्ति

‘घरज्वाइँ’मा रहेका रोधीका दृश्यप्रति गुरुङ समुदायको आपत्ति

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गुरुङ समुदायको संस्था ‘तमु धिं नेपाल’ले सिनेमा ‘घरज्वाइँ’का केही दृश्यप्रति आपत्ति जनाएको छ ।

‘तमु धिं नेपाल’ले सिनेमामा समेटिएका रोधीका केही दृश्यप्रति आपत्ति जनाएको हो । रोधीका दृश्य आफ्नो समुदायमा रहेको जस्तो सिनेमामा नरहेको ‘तमु धिं नेपाल’को दाबी छ ।

रोधी संस्कृतिको मर्म र कर्म विपरीत केही दृश्य सिनेमामा रहेको भन्दै ‘तमु धिं नेपाल’ले त्यस्ता दृश्य तत्काल सम्पादान गर्न भनेको छ । गुरुङ समुदायको संस्कृतिका रुपमा रहेको रोधीप्रति नै आँभा आउने दृश्य राख्नु गलत भएको ‘तमु धिं नेपाल’को भनाइ छ ।

‘सिनेमा ‘घरज्वाइँ’मा प्रयोग गरिएको रोधी संस्कृतिसँग सम्बन्धित केही सम्बाद र दृश्यले रोधीको मर्म र कर्म विपरीत भएको देखिएकाले सिनेमासँग सम्बन्धितलाई ध्यानाकर्षण गर्दछौँ,’ तमु धिं नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘घरज्वाइँ सिनेमा निर्माणसँग सम्बन्धित पक्षले नकारात्मक वा भ्रमित हुने गरी रोधीसँग सम्बधित प्रस्तुतिलाई तत्काल सम्पादन गर्न अनुरोध छ ।’

‘तमु धिं नेपाल’ले रोधीको सट्टा सिनेमा छायांकन, कथा, विषयवस्तु केन्द्रित क्षेत्रकै शब्दावली प्रयोग गर्न सुझाव समेत दिएको छ । सिनेमा निर्माणपक्षले ‘घरज्वाइँ’ मगर समुदायको कथा भएको दाबी गर्दै आएको छ । सिनेमामा रोधी बसेका केही दृश्य देखाएको छ ।

अनिल बुढा मगरले निर्देशन गरेको सिनेमा ‘घरज्वाइँ’ गत शुक्रबारबाट प्रदर्शनमा आएको छ । सिनेमाले राम्रै व्यापारसमेत गरिरहेको छ ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।