दर्शकको सकारात्मक वर्डअफ माउथसहित दोस्रो सातामा ‘घरज्वाइँ’

दर्शकको सकारात्मक वर्डअफ माउथसहित दोस्रो सातामा ‘घरज्वाइँ’

द सिनेमा टाइम्स
1.4k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘घरज्वाइँ’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साता राम्रो व्यापार गरेको सिनेमाले दर्शकबाट पाएको वर्डअफ माउथले गर्दा दोस्रो हप्तामा पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।

सिनेमाले पहिलो हप्तामा करिब ३ करोड आसपासमा व्यापार गरेको निर्माता जनक घर्ती मगरले बताए । उनका अनुसार सिनेमाले पहिलो हप्तामा नै लगानी उठाइसकेको छ । दोस्रो सातामा गर्ने व्यापार पूर्ण रुपमा नाफामा जाने दाबी निर्माता घर्ती मगरको छ । सिनेमाले प्रतिकुल मौसमका बाबजुद पनि राम्रो व्यापार गरेकाले निर्माण टिम खुशी देखिन्छ ।

दोस्रो सातामा पनि राम्रो शो र दर्शक अकुपेन्सी सहित प्रदर्शनरत रहेको वितरक रोहित कट्टेलले बताए ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।